आहारारा गोल्डकपः नेपाल पुलिसलाई उपाधि

पोखरा । आहारारा गोल्डकपको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । पुलिसलाई जिताउन राम वाजी नायक भए । निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयअन्तर्गत पहिलोे हाफको इन्जुरी टाइममा वाजीले प्रहार गरेको बलले जाली चुम्यो । उनले गरेको गोल नै निर्णायक बन्यो ।

नेपाल पुलिस क्लबले आहारारा गोल्डकपको उपाधि पाचौं पटक जितेको छ । १६औं संस्करणको विजेता पुलिसले उपाधिसँगै सात लाख एक हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पा-यो । उपविजेता थ्री स्टार क्लबले तीन लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुुझायो । आहारारा गोल्डकपको अघिल्ला संस्करणमा चार पटकसम्म उपाधि आफ्नो पोल्टामा पारेको थ्री स्टार फाइनलमा पहिलो पटक पराजित भएको हो।

शनिबार भएको खेलमा नेपाल पुलिसका राम वागी म्यान अफ दी म्याच बने। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘निरन्तर खेलले पनि खेलाडी थाकेका थिए,’ उनले भने, ‘फाइनलमा धेरै अवसर आए पनि त्यसलाई क्याच गर्न सकिएन ।’ नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले सिकाएको टाक्सलाई खेलाडीले न्याय गरेको बताए । ‘खेलमा समय धकेलिनु एउटा स्ट्राटेजी हो,’ उनले भने, ‘सिकाएअनुसार खेलाडीले खेलेको हुँदा उपाधि पाउन सफल भयौं।’

प्रतियोगितामा नेपाल पुलिसका रवि पासवान सर्वोत्कृष्ट खेलाडी बन्दै हिरो ड्यास स्कुटर पाए । पुलिस क्लबका सुमन लामा र थ्री स्टारका विश्वास श्रेष्ठ सर्वाधिक गोल कर्ता बने । उनीहरूले नगद २५ हजार रुपैयाँ र ट्रफी जिते । सुदूरपश्चिम ११ अनुशासित टिमबाट पुरस्कृत भयो । प्रतियोगिता अवधिभर टिकट काटेर फुटबल हेर्ने दर्शकबाट घाचोकका उज्वल पोख्रेलले हिरो ड्यास स्कुटर र उत्तमचोकका हरिबहादुर कार्कीले एलजी टिभी पाए । विजेता र उपविजेता खेलाडीलाई खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले पुरस्कार वितरण गरे।

माघ ९ गतेदेखि चलेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार