सुष्मा स्वराजको नेपाल भ्रमणको विरोधमा माओवादी, कसले के भने ?

काठमाडौं ।  माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन् ।

आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् । माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए । उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् ।

माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् । ‘हुन त वाम गठबन्धनका नेताद्वय ओली र दाहालले राम्रो भन्नुभएकै छ । भारतीय पक्षले पनि शुक्रबार साँझ भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकै छ । त्यसैले राम्रै भयो होला’, उनले भने, ‘तर यसले कूटनीतिक आचारसंहिता उल्लंघन भएको छ ।’

नेताहरूमा निहित राजनीतिक स्वार्थका कारण आमजनताले दुःख र ग्लानिको अनुभूति गर्नुपरेको बताए ।
माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । उनले भनिन्, ‘निर्वाचनपछि छिमेकीले भ्रमण गर्नु राम्रो मानिन्छ तर राज्य नै कामचलाउ भएको अवस्थामा कूटनीति मर्यादा र राजनीतिका लागि राम्रो भएन ।’

माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिनाएजेन्डा स्वराज आउनु बेठीक भएको बताए । अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार