केपी ओली सामू यसकारण झुक्न बाध्य भयो भारत, मोदीको ‘कोर्स करेक्सन’ ओलीको जीत

काठमाडौं । भारतीय विदेश मन्त्री सुस्मा स्वराज दुई दिवसीय नेपाल भ्रमण सम्मन्न गरी आज शुक्रबार स्वदेश फिर्ता भइसकेकी छन् । तर, हिजोका दिनमा भारतको मुख्य दुश्मन भनेर चिनिएका एमाले अध्यक्ष केपी ओलीलाई स्वराजले भेटवार्ताको प्राथमिकतामा राखेको देखेर आमजनतादेखि परराष्ट्र विज्ञसम्मले जिब्रो टोक्न बाध्य भए ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको क्रममा भेटघाटको प्राथमिकता र एजेन्डाले प्रष्ट भइसकेको छ, सत्ता र पावरमा रहेको जोसुकै व्यक्ति वा शक्तिको अगाडि झुक्न भारतलाई कुनै समस्या छैन । मधेश आन्दोलन ३, र नाकाबन्दीको बेला प्रमुख शत्रुको रुपमा चित्रण गरिएका केपी ओलीलाई प्राथमिकताको केन्द्रमा राखेर भारतले जसरी कोर्स चेन्ज गर्यो यसले प्रष्ट पार्दछ, भारतको लागि नेपालमा नेपाली कांग्रेसको उपयोगिता समाप्त भएको छ ।

हिजोका प्रमुख दुश्मन ओलीले चुनावमार्फत् नेपालको पहिलो शक्ति के बनेका थिए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लगातार टेलिफोन आउन सुरु भयो । यसक्रममा मोदीले दुई पटक ओलीलाई सिधै फोन गर्न भ्याए । त्यत्तिले नपुगेर मोदीले आफ्नो विशेष दूतको रुपमा स्वराजलाई पठाएर ओली आफ्नो विशेष मित्र हुन् भन्ने सन्देश दिन लगाए ।

प्रष्ट छ, भारतको लागि नेपाल कुनै ठूलो महत्व राख्ने मुलुक होइन । तर, नेपालबाट लिन सकिने फाइदाको लागि भारतले बेलाबेला आफ्नो नजरिया र व्यवहार परिवर्तन गरेको छ । सँधैजसो नेपाली कांग्रेसलाई समर्थन गर्ने गरेको भारतले यसपाली चुनावमा एमाले पहिलो पार्टी बन्ने बित्तिकै केपी ओलीलाई खुलेर प्राथमिकता राख्न पुगेको छ ।

विदेश मामिला जानकारहरुका अनुसार भारतले आज कसलाई समर्थन गर्यो वा विरोध, त्यसबाट कोही आत्तिन जरुरी छैन, जो शक्तिमा भारतले आफ्नो स्वार्थपूर्तिका लागि उसैलाई आफ्नो मित्र बनाउने गरेको छ ।

पहिलो पार्टीको हैसियतले जाहेर छ कि भावी सरकार एमाले अध्यक्ष ओली नेतृत्वमा बन्छ । र सरकारमा रहने व्यक्तिसँग सम्बन्ध मधुर रहेन भने आफू अनुकूल काम गराउन सकिँदैन । हिजो चुनावको बेला एमालेलाई हराउन भारतले हरसम्भव प्रयास गरेको तथ्य ताजै छन् । तर, भारतको चाहना विपरीत एमाले पहिलो शक्ति बनेपछि आफ्नो स्वार्थसिद्धीको लागि अहिले भारत झुक्न बाध्य भएको जानकारहरुले टिप्पणी गरेका छन् ।

एक विज्ञका अनुसार, यसैकारणले गर्दा झुकेर भएपनि भारतले केपी ओलीलाई आफ्नो मित्र बनाउन हरसम्भव प्रयत्नमा लागिपरेको छ । प्रतिनिधिसभाको चुनावी नतिजाले नेपाली कांग्रेस शक्तिहीन बनिसकेकोले तत्काललाई कांग्रेसको उपयोगिता समाप्त भएको छ । तर, भोलि कांग्रेस वा माओवादी शक्ति र सत्तामा पुगे पनि भारतले ओलीलाई छाडेर देउवा र प्रचण्डलाई काँध थाप्यो भने आश्चर्य हुने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार