संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हेटौंडामा, कार्यसूचीमा के छ ?

काठमाडौं । संघीय संरचनाअन्तर्गत ७ प्रदेशमध्ये ३ नम्बर प्रदेशको पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । प्रदेश ३ अन्तर्गतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् । उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयमा अधिवेशन हुनेछ ।

प्रदेशसभा स्थल वरपर निकै चहलपहल बढेको छ । बुधबार (हिजो) बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो ।

कार्यसूचीअनुसार, सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले बैठकमा मन्तव्य प्रस्तुत गर्ने छन् । दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित हुनेछ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि (२०७४ को दफा ९६० को उपदफा–१) अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

३ नम्बर प्रदेशमा ११० सदस्यीय संसद छ । काठमाडौं, भक्तपुर ललितपुर,  सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला यस प्रदेशमा पर्छन्।

सुरक्षा व्यवस्था कडा

पहिलो पटक सुरु हुन लागेको बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक हलमा ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । बाहिरी घेरामा सशस्त्र प्रहरी रहनेछ । भित्री घेरामा प्रहरी निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा ३० जनाको मर्यादापालक टोली रहनेछ ।  त्यस्तै भित्री घेरामै राष्ट्रिय अनुसन्धानको टोली समेत खटिनेछ । अन्तिम घेराको रूपमा नेपाल प्रहरीको कुकुर सहितको बम डिस्पोजल टोली रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार