हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्ने प्रयासलाई सफल हुन दिँदैनौँ – अध्यक्ष दाहाल

काठमाडौँ, माघ १५ -प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने दृढता व्यक्त गरेका छन ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए । राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड उनले दिए ।त्यसैगरी जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी रहेको पनि उनले बताए । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी रहेको उनले बताए ।

देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे । उनले भने “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ” सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए ।

देशको पक्षमा सकारात्मक भूमिका खेलिदिनसमेत उनले पत्रकारलाई आग्रह गरे । विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे । जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको धारणा राखे। कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरे । पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ ।

यस्तै जनयुद्धको समयमा युद्धपत्रकारितामा नै संलग्न संगीता खड्का, देवकी तिमिल्सिनालगायतलाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार