चितवनमा ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन सुरु

चितवन, माघ १२- चितवनको रत्ननगर नगरपालिका –७ मा विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउने भएको छ ।
रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन शुरु गरेको हो ।

आज रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीद्वारा शिलान्यास भएको छ । नमूना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मुख्यगरी शुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ । त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।
एउटा घरमा भान्सा कोठासहित तीनवटा कोठा हुन्छन । शौचालय एउटा छ । बाल उद्यान समिति सामुदायिक भवनसमेत निर्माण गरिनेछ । नमूना बस्ती बनाउने योजनासहित आजदेखि काम थालिएको रोटरियन पूर्ण रिजालले बताए । यसका लागि प्रतिघर रु तीन लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ । मुख्यगरी कूल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ ।
अन्यमा इन्टरनेशनल ३२९२ बाट रु दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट रु तीन लाख, रोटरी क्लब अफ काठमाडाँै मेट्रोबाट रु दुई लाख, आयोजक छ वटा रोटरी क्लबबार रु एक, एक लाख, प्रकाश अर्यालको अग्रसरतामा रु तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट रु एक लाख आठ हजार सहयोग प्राप्त भएको छ ।चितवनको सौराहा नजिकै रत्ननगर–७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार