रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित व्यक्ति छन-लेखा प्रमुख दिनेश न्यौपाने

 

बागलुङ, माघ १२- नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ ।

धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी रहेको उनले जानकारी दिए । टेलिकम कार्यालयले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना छुट दिएपछि तिर्नेको संख्या बढेको छ । कार्यालयले यस वर्षलाई पुरानो बक्यौता उठाउने वर्षको रुपमा लिएको छ । छुटको घोषणा नहुँदै बागलुङ कार्यालयले बक्यौता रकम उठाउन अभियान थालेको थियो । धवलागिरि क्षेत्रमा २०५८ सालदेखि ग्राहकले बक्यौता तिर्न बाँकी रहेको कार्यालय प्रमुख केशव शर्माले बताए ।

रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित् व्यक्ति समेत छन । कार्यालयले पत्राचार गर्नेदेखि सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दैआएको छ ।
एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको कार्यालयले जनाएको छ । माघ मसान्तसम्म जरिवाना छुटको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ । नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम नरहने कार्यालय प्रमुख शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार