काठमाडौँ, माघ ११-खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले नेपाल सरकारलाई ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्नको लागि चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो ।गत वर्षको बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको थियो भने बालीनालीसमेत बगेको थियो । प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको केनेडी राउण्ड योजनाअन्तर्गत उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेकाछन ।
आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले उक्त कार्यक्रम कार्यान्वयन गर्नेछ ।
त्यस अवसरमा सचिव अधिकारीले नेपालको भौतिक पूर्वाधार, सामाजिक एवं दिगो विकासका निम्ति निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे भने राजदूत ओगावाले उक्त कार्यक्रम कार्यान्वयनबाट नेपालका दुर्गम जिल्ला खाद्यान्न संकटबाट मुक्त हुने विश्वास व्यक्त गरे ।