काठमाडौं माघ १० – महाशिवरात्री आउन तीन सातामात्र बाँकी रहँदा पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर क्षेत्रभित्र गाँजा लगायत नसालु पदार्थ प्रतिबन्धको तयारी गरेको छ।

कोषले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार महानगरीय प्रहरी र कोषको दुई महिना लामो संयुक्त अनुगमनपछि गाँजा लगायतका नसालु पदार्थमा प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको जानकारी दिए । प्रहरीसहित दुई महिनासम्म अनुगमन गरेपछि नयाँ पुस्तामा यसको सेवन तथा प्रयोगकर्ता बढेको भेटेपछि प्रतिबन्धको तयारी गरेको उनले बताए ।
शिवरात्रीका बेला प्रहरीले कडीकडाइ गरे पनि हालसम्म पाशुपति क्षेत्रमा गाँजा सेवनमा औपचारिक प्रतिबन्ध भने लगाइएको थिएन । प्रतिबन्ध लगाएपछि प्रहरीलाई पनि अनुगमन तथा कारबाहीमा सहजता आउने हुनेछ ।