गोरखा,रसुवा र हुम्लामा हिमपात

 

काठमाण्डौ माघ १० – गोरखाको चुमनुब्री र धार्चेका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले हिमपातले जनजीवन कष्टकर भएको जानकारी दिए । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । हिमपात भएपछि विद्यालय बन्द गरेको पनि उनले जानकारी दिए । टहरोमा बसेका बासिन्दा हिमपातका कारण सम्स्यामा परेको पनि उनले जानकारी दिए ।
गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन ।
हिमपातका कारणले बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । त्यसैगरी रसुवामा पनि बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिए । त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको उनले जानकारी दिए ।
त्यसैगरी हुम्लामा गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ ।

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन ।

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार