पशुपति आर्यघाटमा वार्षिक दुई करोड मूल्यको दाउरा व्यापार हुन्छ-कर्पोरेशनका महाप्रबन्धक लौडारी

 517 पटक हेरिएको

काठमाडौँ, माघ ८ – द टिम्बर कर्पोरेशन अफ नेपालले पशुपति आर्यघाटमा वार्षिक रु दुई करोड मूल्य बराबरको दाउरा व्यापार गर्ने गरेका छन ।
कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी टिम्बरले जानकारी दिएका हुन । चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको आर्यघाटमा प्रयोग गरिने गरेको उनले जानकारी दिए । मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने उनले बताए ।
कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको समेत महाप्रबन्धक राजु लौडारी बताए । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो रु १३ का लागि दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेशनले दाहसंस्कारका लागि भने प्रतिकिलो रु १० मा दाउरा उपलब्ध गराउँदै आएको हो ।

महाप्रबन्धक राजु लौडारीले जानकारी दिएका अनुसार आव २०७१÷७२ मा २२ लाख ७२ हजार, आव २०७२÷७३ मा २८ लाख १५ हजार ४०० र आव २०७३÷७४ मा १६ लाख ८८ हजार ४०० केजी दाउरा खपत भएको छ ।

यो आवको साउनमा एक लाख ८० हजार ८८२, भदौ एक लाख ४५ हजार ८८३, असोज एक लाख ८१ हजार १३०, कात्तिक एक लाख ७९ हजार १८०, मंसिर दुई लाख ४७ हजार ६२० र पुसमा दुई लाख २२ हजार २५० केजी दाउरा खपत भएको कर्पोरेशनले जनाएको छ ।
दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन । एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ । मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजीे लाग्ने गरेको छ । पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी पशुपतिमा मासिक ८०० को हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको जानकारी दिए । दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको उनले जानकारी दिए ।

विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताए। विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार