प्रदेश २ को मुख्यमन्त्रीमा फोरमका तीन नेताको दाबी, को बन्ला ?

 690 पटक हेरिएको

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका ३ नेताले दाबी गरेका छन् । आइतबार प्रदेशसभा सदस्यको सपथसँगै प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले प्रदेशसभाको पहिलो बैठक माघ २१ का लागि आहृवान बोलाएका छन । यससँगै मुख्यमन्त्रीको चयनको प्रक्रिया अघि बढ्ने भएपछि फोरममा मुख्यमन्त्री र राजपामा सभामुखको खोजी सुरु भएको हो ।

प्रदेश २ मा फोरम र राजपा गठबन्धनको बहुमत छ । ठूलो दल फोरमले मुख्यमन्त्री लिने लगभग पक्का छ, यद्यपि राजपाको पनि दाबी छ । फोरमको प्रदेश २ प्रमुख रेणु यादवले आफ्नो पार्टीले मुख्यमन्त्री पाउने भन्दै व्यक्तिको खोजी भइरहेको बताइन् । यसबारे छलफल हुन बाँकी रहेको उनको भनाई छ ।

कुल १०७ सदस्यीय प्रदेशसभामा फोरमले प्रत्यक्षतर्फ २० र समानुपातिक ९ गरी २९ सिट जितेको छ । राजपाले १५ प्रत्यक्षसहित २५ सिट जितेको छ । मुख्यमन्त्रीका लागि ५४ मत चाहिन्छ । जबकि राजपा र फोरमको मात्रै जोड्दा बहुमत पुग्छ ।

को को छन् मुख्यमन्त्रीका दाबेदार ?

प्रदेश २ को मुख्यमन्त्रीका लागि तीन नेताको दाबी रहेको फोरमका नेताहरु बताउँछन् । लालबाबु राउत, विजय यादव र शैलेन्द्र साहले मुख्यमन्त्रीमा दाबी गरेका हुन।

पार्टी उपाध्यक्ष राउत पर्सा १ (ख) बाट निर्वाचित सांसद हुन । पूर्वसभासदसमेत रहेका उनी मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा झरेका हुन् । पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको उनले बताउने गरेका छन् ।

यादव सिरहा २ कबाट निर्वाचित उनी फोरमको कोषाध्यक्ष पनि हुन् । पहिलो संविधाानसभामा सिरहा ३ बाट प्रत्यक्ष निर्वाचित यादव मन्त्री पनि बनेका थिए ।

साह सप्तरी २ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित साह संघीय समाजवादी फोरमको केन्द्रीय समिति र राजनीतिक समिति सदस्य हुन् ।

फोरम नेताहरु यिनै तीन जनामध्ये एक मुख्यमन्त्री बन्ने स्वीकार गर्छन् । तर, उनीहरुको एकको नाम लिन चाहँदैनन् । तर, सम्भावना विजय यादवको बढी देखिएको बताइन्छ । संघीय फोरममा यादवहरुको बाहुल्य छ । पार्टीले पाएको मतमा धेरै त्यही समुदायको भएकाले विजय यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने लबिङ बलियो छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र प्रदेश प्रमुख रेणु यादवले मुख्यमन्त्रीबारे मुख खोलेका छैनन् । तर, रेणु यादव विजयको पक्षमा देखिएकी छिन्।

यता जनकपुर प्रदेशको राजधानी भएपछि वीरगञ्जबाट मुख्यमन्त्री हुनुपर्ने भन्दै लालबाबुको पक्षमा लबिङ भइरहेको छ । तर, अन्तिममा यादव नै मुख्यमन्त्रीको उम्मेदवार हुने सम्भावना रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार