प्रदेश २ : सांसदहरुले नेपालीमा सपथ लिन अस्वीकार गरेपछि मातृभाषामा सपथ ग्रहण

 1463 पटक हेरिएको

धनुषा ७, माघ । प्रदेश नम्बर दुईको सपथ ग्रहण समारोहमा प्रदेश सांसदहरुले नेपालीमा सपथ लिन अस्वीकार गरेपछि विवाद भयो । तर, प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको समन्वयमा विवाद सुल्झिएपछि सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ ग्रहण गरेका छन् ।

प्रदेश सरकारको आज पहिलो औपचारिक कार्यक्रममा देखिएको विवाद मिलाउन प्रदेश प्रमुख कायस्थको समन्वयकारी भूमिका देखेर सबैले प्रशंसा गरेका छन् ।

प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्यले आइतबार जनकपुरमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित शपथ ग्रहण समारोहमा आठ जिल्लाका एक सय सात सांसदले आ– आफ्नो मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रदेश २ का सांसदरुले चार भाषामा शपथ लिए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका जेष्ठ सदस्य ७६ वर्षीय लगनलाल चौधरीलाई नेपाली भाषमा शपथ ग्रहण गराएपछि चौधरीले सभाका अन्य एक सय ६ सदस्यलाई शपथ खुवाएका हुन् । चौधरीले सपथ ग्रहण नेपालीमा गरे पनि अन्य सदस्यले आ–आफ्नो मातृभाषामा शपथ ग्रहणको व्यवस्था हुनुपर्ने दबाव दिदैँ केहीबेर हो हल्ला गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले प्रत्येक सदस्यले आ–आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही बमोजिम गरिए पनि शपथ पत्र नेपालीमा लेखिएको हुनाले त्यसमै सही गर्न सबै सदस्यलाई अनुरोध गर्दा सांसद अझ बढी आक्रोशित भएका थिए ।

राजपा र संघीय समाजवादी फोरम नेपाल र राजपाका सांसदहरुले मातृभाषामा शपथ पत्र लेखिनुपर्ने माग गरेपछि करिब दश मिनेट विवाद भएको थियो । तर, निर्वाचन आयोगका पदाधिकारी, प्रदेश प्रमुखको सहमतिमा नेपालीसहित मैथिली, भोजपुरी, हिन्दी भाषामा समेत शपथपत्र आफैंले लेखेर हस्ताक्षर गरी शपथ लिन सकिने सहमति भएपछि सोही अनुसार सांसदहरुले सपथ वाचन गरे ।

एक सय ७ सदस्य मध्ये मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार