पार्टी एकताको लागि मोहन वैद्य र विप्लवबीच आन्तरिक छलफल

 463 पटक हेरिएको

काठमाडौं, माघ ७- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि छलफल गरेका छन ।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिए । विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ ।

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरू धु्रवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादीका नेता सेवन्तराज भण्डारीले जानकारी दिए । क्रान्तिकारी माओवादीले केही दिनमै ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गर्ने गरी छलफललाई अन्तिम चरणमा पुर्याएको बताएको छ ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई स्वीकार गरे एकता हुने भन्दै कम्युनिस्टहरूबीच एकीकरणका विषयमा छलफल भइरहेको बताएको छ । जनयुद्धलाई स्वीकार गर्ने र एकीकृत जनक्रान्तिलाई आत्मसात् गर्नेहरूलाई आफूहरू धु्रवीकरण गराउन तयार रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत संसद्भित्रका अराजक प्रवृत्तिलाई भण्डाफोर गर्न भन्दै चुनाव उपयोग गरेको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको नीति लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार