काठमाडौं। प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन्। विहीबार साँझ ६ बजेतिर ट्वीटरमार्फत उनले प्रतिशोधको डटेर सामना गर्ने बताएका छन्।

उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालले टुइटरमार्फत धारणा सार्वजनिक गरेका छन्। सिलवालले ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्ने नौटंकी’ प्रदर्शन गरेको आरोपसमेत लगाएका छन्।
सिलवालले ट्वीट गरेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’
आक्रोशपूर्ण ट्वीट गरेका सिलवालले आफू कहाँ छु भन्नेबारे केही उल्लेख गरेका छैनन्।
सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको ठहर सर्वोच्चले गरेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। तर, सिलवाल फरार छन्। सिलवाल हाल विदेशमा रहेको बताइन्छ।