काठमाडौँ। राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखेको खबर नयाँ पत्रिकामा छापिएको छ ।
बैठकमा युवा नेता कल्याण गुरुङ सुरुदेखि नै आक्रामक ढंगले प्रस्तुत भए । उनले सभापतिले अवैधानिक कार्यसम्पादन समिति र विधानविपरीत संसदीय समिति निर्माण गरेको, आफूलाई मन परेकालाई रोजीरोजीको अवसर दिएको, अवसरको न्यायोचित वितरण नगरेको भन्दै झन्डै तीन मिनेटजति बोल्दा देउवाले छिटो गर्नुस्, छिटो गर्नुस् भन्दै रुलिङ गरे ।
तैपनि गुरुङले बोल्न छाडेनन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका, जेल बसेका, दुःख गरेकालाई नियुक्त नगरी गलत म्यासेज जाने गरी प्रदेश प्रमुख नियुक्त गरेको भन्दै आलोचना गरिरहेपछि सभापतिले रिसाएर गुरुङलाई बीचमै रोक्दै नेता विमलेन्द्र निधिलाई बोल्न माइक दिए ।