नवराज सिलवाललाई प्रहरीले नै भगाएको खुलासा, रातारात यसरी भागे

काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ।

छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ। किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ।

सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन्। स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए। छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ। ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो।

पक्राउ पूर्जीको खबर पाएलगत्तै सिलवाल भारततिर भागेका थिए। त्यहाँबाट उनी इण्डोनेसिया हुँदै अमेरिका पुगेको बताइन्छ।

प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ। ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम(कारबाही गोप्य राखिनुपर्छ। गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने। ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार