मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेपछि व्यापक रुपमा स्वागत

विराटनगर माघ ४ प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ ।

ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर विभिन्न क्षेत्रका व्यक्तिले सोही अनुरुप आ–आफ्ना विचार व्यक्त गरेका छन ।

नेकपा एमालेका मोरङ अध्यक्ष विनोद ढकालले विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकेको कार्यलाई हार्दिक स्वागत गरेका छन । त्यसैगरी नेकपा माओवादी केन्द्र मोरङका नेता गोपी अछामीले विराटनगरलाई अस्थायी राजधानी बनाउने कार्य अत्यन्त राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै मिश्रित बसोबास भएको, सीमावर्ती क्षेत्रका पिछडिएका वर्ग, उत्पीडित जाति, आदिवासी जनजातिलगायत सबैको उत्थानमा सहयोग पुग्ने विश्वास प्रकट गरे ।

संघीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले सरकारको निर्णय स्वागतयोग्य रहेको र ऐतिहासिक नगरी विराटनगर लगायतका क्षेत्रको विकासमा थप बल पुग्ने धारणा व्यक्त गरे ।

उद्योगपति नवीन रिजालले विराटनगरका साथै नजिकका बजारहरुमा चहलपहल बढ्ने, उद्योग स्थापना हुने, रोजगारमा बृद्धि हुनाका साथै नयाँ कार्यालयहरु स्थापना भएपछि निम्नवर्गसमेत लाभान्वित हुने विश्वास व्यक्त गरे । विराटनगरका स्थानीयवासी सन्तोष यादवले विराटनगर अस्थायी राजधानी भएकोमा गौरवान्वित महसुश गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार