सातवटै प्रदेश प्रमुख तोकिए, फोरम नेपालको तर्फबाट पूर्वसचिव कायस्थ प्रदेश दुईको प्रमुखमा नियुक्त

 1804 पटक हेरिएको

काठमाडौं । नेपाल सरकारले सात वटै प्रदेशको प्रमुख नियुक्त गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थलाई प्रदेश प्रमुख तोकेको छ । कायस्थ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सचिव थिए ।

कायस्थ नेपाल सरकारका पूर्वकृषि सचिव हुन् । महोत्तरीका स्थायी बासिन्दा कायस्थ जलस्रोतविद् हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन् । कायस्थ संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए ।

सन् १९४४ मे ३ मा महोत्तरीको जलेश्वरमा जन्मिएका कायस्थाले १९५९ मा ल.च.मु. उच्चा माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी. पास गरेका हुन् । उनले १९६१ मा त्रिचन्द्र कलेजबाट आईएस्सीई प्रथम श्रेणीमा र इम्पेरियल कलेज, लण्डनबाट एम.एस्सी. उत्तीर्ण गरेका छन् ।

कायस्थ वि.स. २०२१ साल देखि २०५८ साल सम्म नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) भई सेवा निवृत्त भएका हुन् । उनले नेपाल सरकारबाट सेवा निवृत्तभए पश्चात नेपाल विद्युत प्राधिकरणको र नेपाल ईन्जिनियरीङ काउन्सिलको बोर्ड मेम्बर भई सेवा प्रदान गरेका छन् ।

२०६३ देखि मधेशी जनअधिकार फोरम, नेपालको केन्द्रीय सचिव भएका उनि २०६४ सालमा राष्ट्रिय योजना आयोगको सदस्य भए । २०७२ साल देखि संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय सचिव रहिसकेका छन् ।

यसैगरि, मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार