नाक काटिएको थियो कि थिएन? सिनासको पुस्तकमा यस्तो छ

कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले त्यहाँका जनताको नाक काटेको थियो कि थिएन भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ पुस्तकमा यस्तो लेखिएको छ-

दुई दुई पटक कीर्तिपुरबाट नराम्रो हार खाएपछि गोर्खा कीर्तिपुर विजय गर्न केवल सैनिक बलले नसकिने निश्कर्षमा पुग्यो र अन्य उपायले जित्ने कोशिस गर्न थाल्यो। दोस्रो पटक हार खाएर फर्केको तेह्र महिनापछि नै प्रथम युद्धमा होमिएका कालु पान्डेका छोरा काजी वंशराज पान्डेको नेतृत्वमा चारैतिरबाट कीर्तिपुरलाई नाकाबन्दी गरी राखे। नाकाबन्दी यतिसम्म कडा गरियो कि यदि कसैले केही पनि प्रतिबन्धित वस्तु कीर्तिपुरभित्र लगेको थाहा भएमा त्यस्ता व्यक्तिको हत्या गरी मूलबाटोमा फालिएर राखिन्थ्यो। आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा पनि गर्दै रहे। साम दाम दण्ड भेद सबै अपनाए।

गोर्खालीले यसरी छ महिनासम्म घेरेर नाकाबन्दी गरी शहरभित्र केही पनि लान नदिने र शहर बाहिर पनि कोहीलाई आउन नदिने गरी राख्दा पनि केन्द्र पाटनमा वैधानिक राजा नहुँदा कुनै किसिमको सहायता प्राप्त भएन। झन् उल्टो त्यहाँका ६ प्रधानहरुले गोर्खालीसँग मिल्ने प्रयास गरी राखेका थिए। यस्तो अवस्थामा सहायता नआउनु कुनै आश्चर्यको कुरा थिएन। कुनै किसिमको राहतको उपाय खोज्न सकिएन। आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको नेतृत्व लिएका धनवन्त सिंख्वालका छोरालाई गोर्खालीले अपहरण गरी नुवाकोट लगिसकेकोले नेतृत्व वर्ग र साधारण जनतासमेत लड्नु भिड्नुदेखि वाक्क भइसकेका थिए।

त्यसर्थ गढ पर्खालभित्रै सरसल्लाह गरी आत्मसमर्पण गर्ने निधो भएपछि नेसं ८८६ चैत्र शुक्ल (१२ मार्च १७६६ इस्वी संवत्) का रात्रिमा गोपुर (सागः) को ढोका खोलियो र गोर्खालीहरु बाख्रा खोरमा बाघ पसे झैँ पसे। आत्मसमर्पण गरेमा आममाफी गर्ने घोषणा लत्याइयो। आफ्ना बाबु मारिएको रिसमा वंशराज पान्डे र आँखा फुटेको रिसमा सूरप्रताप मिली नुवाकोटबाट पृथ्वीनारायण शाहको अनुमतिमा आमहत्या अंगभंग गर्ने जस्ता कार्य गर्न थाले।

शरण पर्न आएका प्रजालाई जहाँ पायो त्यहीँ काट्ने, मार्ने गरे। नौ वर्षअघि आफ्ना काजी कालु पान्डेलाई मारेको र १३ महिनाअघि भाइ सुरप्रतापको आँखा फोरिएको सबै प्रतिशोध अब पृथ्वीनारायणद्वारा कीर्तिपुरका विजित जनतामाथि लिन थाल्यो। यसबारे धेरैले धेरै कुरा धेरै पटक लेखिसकेका छन्। हुनत केही इतिहासकारले यसलाई अनेकन् तर्क वितर्क र कविताको अन्वयसमेत गरी नाक काटेको हैन केवल नत्थु छेडेको मात्र भनी लेखेको समेत पाइन्छ। तैपनि यस विषयमा ककसले केके लेखेका छन् यहाँ प्रस्तुत गर्न उपयुक्त छ। भाषा वंशावली यस विषयमा लेख्छ-

कीर्तिपुरमा ललितपट्नका काजी तौधी श्रेष्ठहरु काजीहरु जाई कोटमा बस्याको थियो। तिनिहरुसित लडाइँ गरी कीर्तिपुरलाई घेराउ गरी ढोका बाहिरबाट मद्दत आउन र निस्कन नदी राख्दा संवत् ८८६ नष्ट चैत्र शुक्लका रात्रि कोटमा रहन्याहरु मध्ये कोही गोर्खातर्फ मिल्न जाई गोर्खालिकन कीर्तिपुरमा प्रवेश गराउँदा ती गोर्खालीहरु देश भित्र गै प्रजाहरु सामुन्ने देखा पर्‍याका धेरैलाई मार्‍या १२ वर्षदेखि उभोँका मानिसहरु सबैको अघि शूर प्रताप शाहको तीले हानी एक्कासी गरी रह्याको रिसले नाक काटि दियो। उस हुलमा लुकी रहन्या र भागि जान्याहरुको मात्र नाक बाँच्यो। (भाषा वंशावली द्वितीय भाग पृ ११८)

यसै व्यहोरामा राजभोग वंशावलीमा अलि फरक उल्लेख छ। कोटमा कब्जा गरिसकेपछि पनि केही प्रजाहरु त्यसको मुकाबिला गरी अन्तै बसेका थिए। सं ८८६ नष्ट, चैत्रमा गोर्खालीले कोट प्रवेश गरेको ९ महिनापछि ने सं ८८७ पौषमा मात्र सबै दागा छोडी कोतमा गै आत्मसमपर्ण गरेको देखिन्छ। उक्त वंशावलीको उद्धृत :

सम्वत् ८८६ नष्ट चैत्र शुक् ९ का दिनका रातृमा कीर्तिपुरमा गोर्खालीले प्रवेश गर्‍या। देश प्रजाहरु देषा पर्न्या आइ लाग्न्याहरुकन समाइ मार्‍या। पछिबाट अघि कालुपान्डे अरु सर्दारहरुकन र सुर प्रताप शाहका नेत्र तीरका प्रहारले फोरिदिया भन्या रिसले कीर्तिपुर्‍या प्रजाहरु १२ वर्षभन्दा बढी उमेरमा भयाकाहरुकन नाक काट्या, भागी दबी रहन्याहरु मात्र बाँच्या। तहाँपछि सम्वत् ८८७ साल पौष कृष्ण दशमिका रातृमा प्रजाहरु सब जम्मा भै चीराक बाली दगा छोडी कीर्तिपुरका कोट घरमा प्रवेश गर्‍या। (राजभोग वंशावली पृ ९२)

तत्कालीन कवि ललित वल्लभले सो कुरा कवितात्मक छन्दमा यसरी प्रस्तुत गरेका छन्

सर्वान् दुर्गवरान् समूपतिवरो जित्वाचतुर्दिकास्थितान्।
रम्यं कीर्तिपुरोति विश्रृतपुरं जगाह भूरिश्रवा।।
हत्वा शत्रुमनश्विनः कति पुनः प्रच्छिद्य नासादिकं।
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्ति स्वरुपं द्विष।।

यसै विषयमा विदेशीले के लेखे? त्यसको पनि आआफ्नो महत्व छ। सर्वप्रथम माइकल एन्जेलोले ती अभागी कीर्तिपुरेको निमित्त शूरप्रताप कहाँ माफीको भिख पनि माग्न पुगेका थिए। तर पुकार सुनिएन। माइकल एन्जेलो तत्कालीन पादरीका प्रमुख थिए र उनी औषधि गर्न निपुण थिए। शूरप्रताप शाहकको आँखा फोरिँदा उनैले उपचार गरिदिएका थिए। क्रिस्चियन धर्ममा मानवप्रति दयाको आफ्नै स्थान हुन्छ र त्यसै धर्मका पादरी भएको अति शूरप्रताप शाहलाई औषधि गरिदिएका नाताले पनि कीर्तिपुरमा अनिष्ट हुन लाग्यो भन्ने ठानी उनले शूरप्रताप कहाँ क्षमादानका निम्ति समेत अनुरोध गर्न पुगेका थिए। यसबारेमा गुसिपिको भनाई यस्तो छ:

नाकाबन्दीको कारण छ सात महिनासम्म कठिन अवस्थामा कीर्तिपुरका जनताले जीवन बिताइसके। यत्तिकैमा एक्कासी पाटनका धनवन्त गोर्खालीहरुसँग मिल्न गई गोर्खाली सैनिक कीर्तिपुरमा हुले। यहाँका जनताले अझै पनि आफ्नो देशको रक्षा गर्न सक्दथे। तर गोर्खालीले आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा गर्दै प्रचार गरे। धेरै लामो नाकाबन्दीले थाकेका कीर्तिपुरले गोर्खाको छलकपट बुझेनन् र आममाफी दिने घोषणाको विश्वासमा परी आत्मसमर्पण गरे। आत्मसमर्पणपछि गोर्खालीले सहरको सबै ढोका बन्द गरेर सहर भित्र बाहिर गर्न दिएनन्। यसको दुई दिनपछि नुवाकोटमा बसेका पृथ्वीनारायणको आदेशमा सूरप्रताप शाहले मुख्य मुख्यको ज्यान लिए। अरुको नाक ओठ काटे। केवल आमाको दूध खाने बालकमात्र बचे। काटेका नाक ओठ सबै जम्मा गरी राख्न आदेश भयो। जसले गर्दा कति रैति रहेछन् गन्न सकियोस्। अनि देशको नाम नै नष्कट पुर राखे। आदेश हरतरहले पालना गरियो। जतिसुकै दानवीय किन नहोस्। केवल मुखले बाजा बजाउने मात्र बच्न सके। फादर माइकल एंगेले कीर्तिपुरमा जनताको लागि दयाको भिख त मागिदिएका थिए। तर भिख पाएनन्। धेरैले त्यस यातनाको कारण आत्महत्या पनि गरे। अरु धेरैले हामी कहाँ औषधिमुलो खोज्दै आए। यति धेरै मानिसको काटिएको नाक र दाँतको दृश्य देख्दा साँच्चै नै मूर्दा त होइनन्? भनी दृश्य ह्दयविदारक हुन्थ्यो। (जर्नल अफ एसियाटिक सोसाइटी भोल्युम २ पृष्ठ ३१९)

त्यसैगरी कीर्तिपुर दखल भएको २३ वर्षपछि नेपाल आएका कर्क प्याट्रिकले यस्तो लेखेको पाइन्छ-

कीर्तिपुर……यस शहरमाथि विजय हासिल गर्नमा गोर्खालीलाई धेरै श्रम, सिप, धन र जन खर्च गर्नुपरेको थियो। साथै धेरै कष्ट सहनु परेको थियो। त्यसको प्रतिशोध स्वरुप विजय हासिल गरिसकेपछि त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले तिनीहरुको नाक, कान काटियो। हामीले यो कुरा हाम्रै भरियाहरु मध्ये धेरैको नाक नभएको देखी त्यसको कारण सोध्दा त्यस्तो जवाफ पायौँ र थाहा पायौँ। (कर्कप्याट्रिक -१६७)

यसरी नाक काटेको विषयलाई लिएर धेरै विवाद भए। धेरै मसी खर्च भए। यकिन हो भन्नेले पनि भने। खण्डन गर्नेले पनि गरे। अब हामीले यस विषयमा विचार गर्नुपर्दा खण्डन गर्नेको पनि खण्डन गर्ने ठाउँ छ। समर्थन गर्नेलाई खण्डन गर्न खोज्दा कताकता इतिहास लेखन प्रति नै बेइमानी हुन जाने पनि देखिन्छ। जब विदेशीले हाम्रो विषयमा राम्रो भनी लेख्दा हाँस्दै खुसी हुँदै सकार्ने, अन्य मन नपर्ने र आघात् पर्ने कुरा लेखेको पाएमा त्यसलाई असत्य मान्ने हो भने यो देशको सम्पूर्ण इतिहास नै पुनर्लेखन गर्न जानु पर्ने हुन्छ।

तत्कालीन इतिहासलाई केलाएर हेर्दा यो घटना नघटेको भन्न मिल्ने देखिँदैन। घटना सत्य नै हो। प्रथम आक्रमणमा आफ्नै सवल सैनिक कमान्डर मारिनु, दोस्रो आक्रमणमा भाइको आँखा फोरिनु र तेस्रो आक्रमण पनि पहिलो आक्रमण मै परी मर्ने कालु पान्डेको पुत्र व‍ंशराज पान्डेको नेतृत्वमा हुने र विजय प्राप्त भएपछि विजित शत्रुमाथि यसरी अतिशयोक्ति गर्नुमा कुनै आश्चर्य थिएन। विश्वका अन्य भागमा पनि पराजयपछि भोग्नुपर्ने नियतिको धेरै प्रमाणहरु तत्कालीन इतिहासमा पाइन्छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमाथि मात्र भएको लाञ्छना भए, सानै स्तरमा मात्र घटेको घटना भए यसरी एकै स्वरले स्वदेशी तथा विदेशी सबैको मुखबाट वर्षौासम्म घटना विवेचना भई रहनु पर्ने थिएन। त्यसैले यो काल्पनिक कथाको पाना हुन सक्दैन। केवल विजय हासिल गर्नेको मात्र इतिहास लेख्ने र गुणगान गाउनु पर्ने भए यो असत्य हो। तर बिना सत्यता. बिना त्रासदी र पाशविक घटना नभएको भए यसरी सताब्दियौँपछि सम्म पनि यसको विवेचना भइरहने थिएन। त्यसैले यसमा सत्यता अवश्य छ। आशा गरौँ, यसको प्रामाणिक लेखौट एक दिन अवश्य प्रकाशमा आउनेछ।

तर घटन घटेको दुई सय वर्षपछि लेखिएको एउटा पुस्तकमा मात्र यसको खण्डन गर्न तर्क वितर्क अघि सार्नु इतिहासलाई बंग्याउन खोज्नु मात्र हो। त्यसर्थ समष्टिगत रुपमा विश्लेषण गर्दा विभिन्न लेखकहरुद्वारा प्रस्तुत गरिएको निश्कर्ष पनि अघि सार्नु वाञ्छनीय हुन्छ। यसै विषयलाई लिएर तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र लेख्छन्-

धेरै जसो समकालीन ग्रन्थहरुमा नाक कान काटिएको घटनाको वर्णन छ। केही इतिहासकारहरुले पादरी जेसेपिको भनाइलाई असत्य ठहर्‍याएका छन्। तर इसाई पादरीले मात्र यस घटनाको वर्णन गरेको भए सोको सत्यतामा शंका गर्ने ठाउँ हुन्छ। तर दरबारिया कवि ललिता वल्लभ तथा सुन्दरानन्द र कर्कप्याट्रिकले पनि यस घटनाको उल्लेख गरेका हुनाले यो ऐतिहासिक घटना देखिन आएको छ। र कीर्तिपुरका जनताको नाक कान काटिएको घटना सत्य प्रतीत हुन्छ। (वैद्य र मिश्र पृ ४३)

अन्तमा यो घटना घटेकै देखिन्छ। नाक काटिएकै थियो। सत्यलाई जति बंग्याएर लेखेतापनि आखिर सत्य सत्य नै रहन्छ। यस विषयमा गुरु वंशावली सत्यताको धेरै नजिक पुगेको देखिन्छ। त्यसमा जम्माजम्मी ८६५ जनाको नाक काटेको उल्लेख भएको छ। माथि उल्लेख भए जस्तै कीर्तिपुरमा यसबेला करिब हजारमात्र लड्न भिड्न सक्ने जनता थिए। (पृ १७) माइकल एन्जेलो र गुसिपिले देखेको घटना कर्कप्याट्रिकले देखेको अभागीको अनुहार कसरी असत्य मान्ने? यस तथ्यलाई नमान्ने हो भने आज नेपालका बारेमा जति पनि विदेशीले लेखे सबै अमान्य गर्नुपर्ने हुन्छ। इतिहासमा सत्यता र तथ्यताको आफ्नै महत्व हुन्छ। केवल वाक् चातुर्यता इतिहास बंग्याउन खोज्नु देशकै निमित्त अन्याय गरेको सम्झिनु पर्छ। इतिहास लेख्नमा बेइमानी गरेको ठहरिन्छ। माईसंसारबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार