काठमाडौं । समानुपातिक प्रदेश सांसदको नामावली सच्याउन नमानेको राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन आयोगको चेतावनीपछि आफ्नो अडानबाट पछि हटेको छ । संयोजक महन्थ ठाकुरदेखि अध्यक्ष मण्डलका सदस्यहरु आयोगले भनेअनुसार नयाँ नामावलीसहितको सूची पठाउन तयार भएका हुन् ।

राजपा प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर बुझाउने निर्णयमा पुगेको नेता राजकिशोर यादवले बताए । ‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउछौं,’ उनले भने ।
आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो । चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए । भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।