काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बस्ने गरेका डा. गोविन्द केशी प्रहरी हिरासतमा छन् । तर, उनको रिहाईको माग गर्दै हजारौं समर्थकले आज मंगलबार काठमाडौंमा सर्वोच्च अदालत विरुद्ध प्रदर्शन गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेहरुलाई पनि मानहानीको मुद्दा लगाउन चुनौती दिएका छन् ।
डा. केसीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा मंगलबार बिहान भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भए ।
विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आफूहरुको प्रदर्शन अदालतको सम्मान बढाउन भएको बताए ।
कांग्रेस नेता थापाले डा. केसीको अभिव्यक्ति व्यक्तिसँग सम्वन्धित नभई अदालतप्रति सम्मान रहनुपर्छ भन्ने मूल्यमाथि धावा बोलिएको प्रतिरोध भएको उनले बताए । उनले अघि भने, ‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’