लक्ष्मीनारायण मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

लमजुङ पुस २४- बेंसीशहर नगरपालिका वडा नं ८ मा लक्ष्मीनारायण मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । स
गत मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजारी सोमराज घिमिरेले बताए। गत मंसिर १९ गते शालिग्रामका शिला पूजा गरी नुहाएर राखेको २१ गतेसम्म शिला रहेको पुजारी घिमिरेले जानकारी दिए । २२ गते पूजा गर्न खोज्दा नभेटिए तत्काल समितिलाई जानकारी गराएको उनले बताए ।
मन्दिरको तोडफोड नगरी शिला हराएको हुँदा समितिभित्रका मध्येबाट नै चोरी भएको हुनसक्ने आशंका गरिएको छ । शिला हराएको अघिल्लो दिन समिति सदस्य एवं पण्डित बालकृष्ण सुवेदी मन्दिरभित्र छिरेको र पण्डित सुवेदीले नै शिला चोरेको पुजारीको आरोप छ । मन्दिरमा राखिएका शालिग्राम गणना गर्न हुँदैन भन्ने विश्वासका कारण कति चोरी भए भन्ने यकिन छैन । विक्रम संवत् १६६१ मा लमजुङे राजा सचिन्द्र शाहद्वारा लक्ष्मीनारायण मन्दिरको निर्माण गरिएको र कालीगण्डकीबाट शालिग्राम ल्याएर लक्ष्मीनारायणको शक्तिको प्रतीकका रूपमा प्रतिस्थापना गरिएको अग्रजको भनाइ छ ।

चोरी आरोपित पण्डित सुवेदीले आफूले शिला चोरी नगरेको दाबी गरेका थिए । तर आफूमाथि आरोप लागेपछि २४ थान शालिग्राम शिला मन्दिर व्यवस्थापन समितिलाई बुझाएको समिति सदस्य नरहरि वाग्लेले बताए ।
पण्डित सुवेदीले बुझाएको शिला नक्कली भएको वाग्लेको भनाइ छ । “उनले शिला चोरेको होइन पनि भन्छन। “फेरि समितिलाई २४ थान बुझायो”– वाग्लेले भने “उनले बुझाएकामध्ये तीन÷चार वटा सक्कली शालिग्राम हो अरु सबै नक्कली हो ।” मन्दिरको समिति, पुजारी, भक्तजन, स्थानीय र प्रशासनसहितको संरक्षणमा रहेको मन्दिरबाट शालिग्राम हराउनु र सबैजना मौन रहनुमा कुनै रहस्य भएको स्थानीयको गुनासो छ ।
मन्दिरमा रहेका पुराना र महत्वपूर्ण शालिग्राम शिला चोरी भएको एक महिना पूरा भइसक्दा पनि समितिले कतै उजुरी नगर्नु कारबाहीको प्रक्रिया अघि नबढाउँदा स्थानीय आक्रोशित भएका छन। दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
चोर पनि पत्ता लागिसकेको समितिले सार्वजनिक नगरेको र चोरलाई कारबाही नगरेको पनि स्थानिय कृष्णलाल प्रधानले बताए । पुरानो शिला भएकाले यसको मूल्य निकै महँगो हुने सरोकारभएकाहरु बताउँछन । पण्डित सुवेदीले महँगो मूल्यमा सक्कली शिला बेचेर खोलाबाट नक्कली ल्याएर समितिलाई बुझाउँदै उम्किन खोजेको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार