नवराज सिलवालको बिषयमा समाचार लेख्ने तीन जना पत्रकारलाई पक्राउ पुर्जी

 1265 पटक हेरिएको

काठमाडौं २४, पुस । महानगरीय प्रहरी परिसर काठमाडौंले तीनजना पत्रकारलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ । डीआईजीहरूको विवादास्पद कार्यसम्पादन मूल्यांकन प्रकाशित गरेको विषयमा तीनजना पत्रकारलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो ।

परिसरका अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेले सुशासन अनलाइन, शुभदिन र मूलधारन्युज अनलाइनलाई ‘सम्पादकलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराउन’ भन्दै पत्र काटेका हुन् । सुशासन अनलाइनबाहेकका दुईले भने पत्र बुझेका छैनन् । कार्यसम्पादन मूल्यांकनको समाचार प्रकाशित भएका बेला शुभदिनमा खिलानाथ ढकाल सम्पादक थिए भने हाल अशोक अधिकारी सम्पादक छन् । सुशासन अनलाइनमा उत्तम अर्याल र मूलधारन्युजमा रवि धामी सम्पादक छन् ।
सुशासन अनलाइनका प्रबन्ध निर्देशक मदनबाबु भण्डारीका अनुसार प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुक स्वयंले फोन गरेर पत्र बुझिदिन आग्रह गरेका हुन् । पत्रमा यसअघि पुस ९ गते पठाएको पत्रको जवाफ नदिएको हुँदा ‘माग गरिएको विवरण अविलम्ब यस कार्यालयमा पठाइदिनुहुन अनुरोध गरिएको छ’ भनी उल्लेख छ ।
प्रहरी परिसरले उच्च अदालत पाटनले गत पुस १८ गते गरेको आदेशलाई समेत उल्लेख गरेको छ । आदेशअनुसार ‘पत्रकारको पेसागत मर्यादा प्रतिकूल नहुने गरी’ भन्दै ‘मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएकाले सम्पादकलाई उपस्थित गराउन’ आदेश दिएको हो । प्रहरी परिसरले प्रेस काउन्सिललाई समेत पत्रको बोधार्थ पठाएको छ ।
प्रहरीले सुरुमै पत्रमा माग गरिएको विवरण पठाइदिनुहुन भनी अनुरोध गरेको छ । प्रहरीले कार्यसम्पादन मूल्यांकन विवरणको स्रोत माग गरेको हो । पत्रकार आचारसंहिताअनुसार सूचनाको गोप्य स्रोत खुलाउन मिल्दैन । प्रहरीले पत्रको व्यहोरामा भने ‘पत्रकारको मर्यादा प्रतिकूल नहुने गरी’भनी उल्लेख गरेको छ । जब कि सूचनाको गोप्य स्रोतको विवरण माग्नु पेसागत मर्यादाको प्रतिकूल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार