आन्तरिक कलहमा फस्यो एमाले, नेतै पिच्छे गुटको राजनीति चर्कियो

काठमाडौं । एमालेभित्र आन्तरीक प्रतिस्पर्धा सुरु गरेको छ। पार्टीका दोस्रो तहका नेताहरु एक अर्काविरुद्ध सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन्। पार्टी एकताका लागि निर्णायक संवाद प्रक्रिया चलिरहँदा एमालेभित्र गुटगत राजनीति चर्किएको हो। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच संघर्ष देखिएको छ।

चुनाव लगत्तै काठमाडौंमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले पार्टी एकतासँगै दुवै पार्टीका शीर्ष नेताले राजनीतिबाट सन्यास लिएर युवा पुस्तालाई मौका दिनुपर्ने बताएका थिए। भट्टराईले नेतृत्व हस्तान्तरणको बहस सिर्जना गरेसँगै अध्यक्ष ओली पक्षका नेताहरु भट्टराई विरुद्ध खनिएका छन्।

लगत्तै भट्टराईको सो अभिव्यक्तिप्रति लक्षित गर्दै ओली निकट नेता विष्णु रिमालले साथीहरुको माक–फुइँले सगरमाथा चढेको’ टिप्पणी गरेका थिए। ओलीले सम्बोधन नगरेसम्म चुनाव जित्ने आँट नभएकाहरुले अहिले ‘बाँदर उफ्राइ’ देखाएको भन्दै रिमालले ट्विटरमा कटाइ गरेका थिए।
यता, एमाले सचिव भट्टराईले पार्टी अध्यक्षलाई केही नेताले अनावश्यक विषयमा उचाल्ने प्रयत्न गरिहेको आरोप लगाए।

बुधबार दिउँसो राजधानीमा सञ्चारकर्मीसँग भट्टराईले अध्यक्षसँग आफ्नो सम्बन्ध बिगार्ने र अनावश्यक विवाद सिर्जना गरेर पार्टी अध्यक्षको नजिक बन्ने प्रयत्न भएको टिप्पणी गरे। भट्टराई पार्टीभित्र  माधव नेपाल पक्षका नेता मानिन्नछन्। तर, पछिल्लो समय अध्यक्ष केपी ओलीले पनि उनलाई बिश्वास गरेका छन्।

चुनावी सभाको बेला ताप्लेजुङमा पुगेर एमाले अध्यक्ष ओलीले भट्टराईलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाइदिने आश्वासन दिएका थिए। सोही विषयलाई लिएर  केही  नेताहरु भट्टराईलाईविरुद्ध लागेका छन्।

अब सरकारमा थोरै मात्र मन्त्री हुने तथा आकांक्षीहरु धेरै भएकाले पनि पार्टीभित्र ओली निकट हुने प्रतिस्पर्धा चलेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार