प्रदेश सभा सदस्यलाई काठमाडौंमा सपथ खुवाउने सरकारको तयारीप्रति एमालेको कडा आपत्ति

काठमाडौं । देउवा सरकारले प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई राजधानी डाकेर सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनको मुख्य घटक नेकपा एमालेले कडा आपत्ति जनाएको छ । प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि एमालेले नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन ।

यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाइनेछ ।

तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए । एमाले नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रदेशसभाबाट चुनिएका सदस्यहरुलाई काठमाडौंमा सपथ गराउनु भन्दा ठूलो जग हँसाइ के हुन्छ ?’ समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए ।

वाम गठबन्धनका प्रभावशाली नेता ज्ञवालीले प्रदेशको अस्थायी मुकामलाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न अपील गरेका छन् । सरकारले एमालेले औपचारिक रुपमै कार्यकर्तालाई आह्वान गर्न लागेको समेत उनले जानकारी दिए ।

प्रदेश नम्बर ४ र ६ बाहेक अन्य प्रदेशको राजधानीलाई लिएर विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादीका नेता कार्यकर्ताका साथै सांसद र प्रदेशसभा सदस्यसमेत सहभागी भएका छन् ।

तर, एमाले सचिव प्रदीप ज्ञवालीले अस्थायी राजधानीलाई लिएर तरंगित नहुन अपील गरेका छन् । अहिले भइरहेको आन्दोलन रोक्न अपील गर्दै उनले भने, ‘अस्थायी केन्द्र तोक्ने कुरा नितान्त अस्थायी प्रबन्ध हो । यसमा तरंगित नहुनुस् ।’

प्रदेशको नाम र राजधानी प्रदेशसभाले दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था छ । यद्यपि प्रदेशसभाको पहिलो बैठकका लागि सरकारले अस्थायी मुकाम तोक्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार