दिल्ली टु दुबईु नामक नाटकयात्रा सुरु

 


विराटनगर
पुस २३ ।मोरङका गाउँहरूमा ‘दिल्ली टु दुबईु नामक नाटकयात्रा सुरु भएको छ । महिला हिंसा न्यूनीकरणको अनुसन्धान गर्न १० वटा गाउँमा कचहरी नाटक प्रदर्शन गर्न सुरु गरिएको हो । ती नाटक मोरङका साबिक १० वटा गाविसमा प्रदर्शन गरिनेछ । नाटकको सुरुवाती मञ्चन विराटनगरको सुशीला कोइराला नाटकघर गुरुकुलमा भएको थियो ।

महिला हिंसा न्यूनीकरणमा पार्ने प्रभाव मूल्यांकन गर्न व्यावहारिक रूपमै कचहरी मञ्चन गर्न सुरु गरिएको नाटकका निर्देशक अनुप बरालले बताए । उनले भने, ‘कचहरीमा नाटकले उठाएका विषयवस्तुको दर्शकबाटै निकास निकाल्ने गरिन्छ ।ु उनले परम्परागतभन्दा कचहरीमा दर्शकको प्रत्यक्ष सहभागिता रहने बताए ।

शुक्रबारबाट मोरङका तेतरिया, झुरकिया, केराबारी, अमरदह, केरौन, डाँगीहाट, वबियाबिर्ता, बाहुनी, याङशिला र गोविन्दपुरमा नाटक मञ्चन गरिन्छ । चेलीबेटी बेचबिखनमा अति प्रभावित १० जिल्लामध्ये मोरङ पनि एक हो । पूर्वका विकट पहाडी जिल्लाहरूबाट भारतलगायत तेस्रो मुलुकमा बेचबिखनका लागि महिलाको तस्करी गर्न यो जिल्लालाई नाकाको रूपमा प्रयोग गरिँदै आएको विभिन्न अध्ययन र तथ्यांकले देखाएको छ । ‘प्रभावित जिल्ला भएकैले नाटकलाई यहाँ केन्द्रित गरेका हौुं, बराल भन्छन्, ‘जनचेतनाका साथै महिला हिंसाको अवस्था उजागर गर्नु पनि हाम्रो उद्देश्य हो ।ु

नाटक तयार पार्न स्विडेनको लिनियस विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजले सहकार्य गरिरहेको छ । लिनियस विश्वविद्यालयका अनुसन्धानकर्ता प्रणव दाहालका अनुसार यो अनुसन्धान साबिकका २० गाविसमा दुई वर्षअघिदेखि नै सुरु भएको हो ।

दस गाविसमा यसअघि नै सोही विषयमा दुई चरण फरक नाटक मञ्चन भइसकेको छ । तेस्रो चरणको यो मञ्चन सकेपछि नाटक मञ्चन गरिएका साबिकका १० गाविस र नगरिएका १० गाविसबीच तुलनात्मक मूल्यांकन गर्ने दाहाल बताए, । उनले भने, ‘अनुसन्धानले त्यसपछि मात्र नाटकको प्रभावका बारेमा मूल्यांकन गर्नेछ ।ु

नाटकले महिला हिंसा न्यूनीकरणमा कस्तो प्रभाव पार्छ भन्ने अनुसन्धानको पाटोका रूपमा यो कचहरी मञ्चन सुरु गरिएको नाटक निर्देशक बरालले बताए । नाटकमा कलाकारहरू दिया मास्के, कमल देवकोटा, अनुज पाण्डे, मनीष निरौला, विनीता थापामगर, प्रेमवर्षा खड्का, सुरज मल्ल आदिले अभिनय गरेका छन् । प्रलय चौलगाईं र दीपेन्द्र सिटौलाको संगीत संयोजन रहेको नाटकमा देव न्यौपानेको व्यवस्थापन रहेको छ । नाटक भवसागर घिमिरेले लेखेका हुन् ।

कचहरी नाटकको सामाजिक प्रभावमाथि दाहालले गरिरहेको यो अध्ययनलाई लिनियस विश्वविद्यालयका तर्फबाट प्राध्यापक डा।कट्रिन स्वानवर्ग र काठमाडौं मेडिकल कलेजको तर्फबाट प्राध्यपक डाक्टर सुनीलकुमार जोशीले सघाइरहेको निर्माण पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार