झापामा एलपी ग्यासकाे कालाेबजारी

काठमाडौं, पुस २१ ।
झापामा ग्यास सिलिण्डर भर्दा २० रुपैयाँ ठगी हुँदै आएको ग्यास बिक्रेता संघ झापाले दमकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । संघले उपभोक्ताहरुलाई ग्यास सिलिण्डर लैजाँदा अनिवार्य बिल माग्न आग्रह गरेको छ ।
ग्यासको मूल्य बढ्दा र घट्दा राजधानीको मूल्यमा आधारित भएर समाचार आउने गरेको भन्दै त्यहाँभन्दा झापामा २० रुपैयाँ सस्तो हुने ग्यास बिक्रेता संघ झापाका अध्यक्ष टेकबहादुर थापाले बताए । पहाडमा भन्दा तराईमा २० रुपैयाँ सस्तो हुने भएकाले अहिले कतिपय व्यापारीहरुले भने उपभोक्तालाई बाहिर आएको मूल्य जस्तै २० रुपैयाँ बढी लिने गरेको पाएको थापाले बताए ।

झापामा ग्यास प्रति सिलिण्डर १३ सय ५५ रुपैयाँ पर्ने थापाले बताए । तर, व्यापारीहरुले १३ सय ७५ रुपैयाँ लिँदै आएका छन । ग्यास बिक्रेता संघका केन्द्रीय सदस्य राजु न्यौपानेले ग्यासमा ठगी रोक्नका लागि आफूहरु सक्रिय रहेको जनाउँदै उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

ग्यास बिक्रेता संघका तुलाराम न्यौपानेले ग्यास सिलिण्डरमा जोडिने पाइप, रेगुलेटर लगायतका गुणस्तरहीन सामग्रीहरु घरघरमा गएर बिक्री गर्ने गरेको पाइएको भन्दै यसमा सचेत हुन आग्रह गरे । बजारमा ५ सय रुपैयाँसम्ममा पाइने त्यस्ता सामग्रीहरु २५ सयभन्दा बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएको न्यौपानेको भनाइ छ । ग्यास क्षेत्रमा रहेका बिकृति रोक्न सबैको चासो र पहल आवश्यक रहेको उनले बताए ।यसैगरी ग्यास बिक्रेता संघले २५ बर्षअघिदेखि ग्यास बिक्रेताहरुलाई दिँदै आएको कमिशन आज पनि यथावत रहेको भन्दै यसमा राज्यको ध्यान जानुपर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार