काठमाडौँ । नेपाली सेनाले बैंकको रकम हिनामिनाका विषयमा सहायक रथी रमेश विष्टमाथि आन्तरिक छानबिन अघि बढाएको छ । यसका लागि सेनाले समिति नै बनाएको छ ।

विष्टमाथि कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोप छ । कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको बताइएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तो पाएपछि विष्टलाई सेनाले आफ्नो नियन्त्रणमा राखेर छानबिन थालेको हो ।
बिष्टलाई उपत्यका प्रितना नारायणहिटीमा राखेर बयान लिइएको छ ।
छानबिनपछि ‘कोर्ट अफ इन्क्वाइरी’ ले दोषी ठहर सदर गरेमा उनलाई ‘कोर्टमार्सल’ समेत हुनेछ ।
सीआईबीले पनि आफ्नो तर्फबाट अनुसन्धान जारी राखेको छ । सेनाका नवनियुक्त प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।