चिसोले कठ्याङ्ग्रिएर नागरिकले ज्यान गुमाउँदा पनि केही पहल नहुनु सरकारको लापरवाहीः फोरम

बाँके । संघीय समाजवादी फोरम नेपाल बाँकेले तराई र मधेशमा बढ्दो शीतलहरबाट जोगिन कुनै पनि पहल नहुनु सरकारको गम्भीर लापरवाही भएको बताएको छ । विगतका वर्षहरुमा पनि चिसोमा कठ्याङ्ग्रिएर थुप्रै आम जनताले ज्यान गुमाउनु परेको भन्दै फोरमले कुनै अप्रिय घटना हुन नदिने उपायको यथाशीघ्र व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसँग जोडदार माग समेत गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै फोरमले तराई र मधेशका जिल्लाहरुमा अत्याधिक चिसोसँगै शीतलहर सुरु भइसकेको हुँदा दिनभरीजसो लाग्ने गरेको बाक्लो हुस्सु र चिसो हावाका कारण त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जाडो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्याङ्ग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने जस्ता गम्भीर समस्या उत्पन्न भइसक्दा पनि चिसोबाट जोगिन स्थानीय प्रशासनले अहिलेसम्म कुनै पनि पहल र उपाय अवलम्बन गरेको छैन । तसर्थ शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन यथाशीघ्र व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गर्दछौँ ।’

फोरमले जाडोबाट जनतालाई जोगाउन शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा तथा आगो ताप्न दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न विभिन्न सामाजिक संस्था, राजनीतिक दल र स्थानियवासीसँग अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार