तमोर नदीमा मोटरेवल पुल आगामी फागुनभित्रै निर्माण हुने

काठमाडौं, पुस २० सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको र ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ ।
उक्त पुलको निर्माण कार्य आगामी फागुन मसान्तभित्रै सक्ने गरी काम भइरहेको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए । अहिले नदीमा पानीको बहाव घटेकाले टेका लगाउने लगायतका कार्यलाई तीव्र बनाइएको उनले बताए । अब चाडै पुल जोड्ने काम हुने उनले बताए । रु दश करोडको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा निर्माण सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा निर्माण कार्य अलपत्र परेको उनले जानकारी दिए । अढाइ वर्षभित्रै सम्पन्न हुने गरी कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग निर्माण सम्झौता गरेका थिए । तर ठेकेदारकै लापरबाहीले आठ वर्षसम्म निर्माण कार्य अलपत्र बनेको स्थानीयवासी बताउँछन ।
सबै सामान ल्याएर समयमा नै काम थालिएकाले यो वर्ष चाहिँ पुल बन्ने छाँटकाँट देखिएको स्थानीयवासीले बताएका छन । पुल नबन्दा नदी पारिका क्षेत्रमा विकासले गति लिन नसकेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका थिए । अहिले दोभान बजारको वारिसम्म बस, ट्रक, ट्याक्सीलगायतका सवारीसाधन पुग्छन । अर्कातर्फ झोलुङ्गे पुलबाट सामान तारेको ढुवानी भाडा महँगो तिर्नुपर्ने हुन्छ ।स्थानीय मजदुरले ५० किलो तौलको बोरा तारेको मात्रै रु ३० लिन्छन । खुद्रा सामान तारेको प्रतिकिलो रु एक लाग्छ । साविकका गाविसहरु निघुरादिन, फूलबारी, हाङ्पाङ, चाँगे, नाल्वु, थुकिमा, लिङ्तेप, खाम्लुङ, सान्थाक्रा, साँघु, ढुङ्गेसाँघु र फाकुम्बामा कच्ची सडक निर्माण भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार