बालुवाटारमा सर्वदलीय बैठकः प्रदेश प्रमुख र राजधानी तोक्न सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रदेश प्रमुख र राजधानी तोक्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न वाम गठबन्धनका नेताहरुले सहमति जनाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘वाम गठबन्धनका साथीहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको हो, छिटो निर्णय गर्नुस् भन्नुभयो,’ पौडेलले सञ्चारकर्मीसँग भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषयमा सहमति जनाउन आग्रह गरेका थिए ।

बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए ।

सर्वदलीय बैठकमा सहमति जुटेपछि सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार