काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र बीच पार्टी एकताबारे छलफल भइरहेको बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा उनले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताए ।
नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पारे । “सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ”– उनले भने ।
उनले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गरे ।
उनले पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताए । “जवजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो”– उनले भने ।
इच्छाशक्ति भए नेपालको विकास चाँडै हुने उनको भनाइ थियो । उनले एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने स्पष्ट पारे ।