राजपा भन्छ -चाडो पार्टी एकता गरौ , फोरम भन्छ -अहिले नै हतार नगरौ

 


काठमाण्डौ
पुस १७ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले दुई नम्बर प्रदेशमा प्रदेश संसद र केन्द्रीय संसदमा चुनावी तालमेल गरेर बहुमत ल्याएका थिए । चनावअघि दुवै पार्टीका नेताले पार्टी एकतासमेत गर्ने बताएका थिए। तर अहिले दुई पार्टी एकता हुने छाटकाट देखिएको छैन ।
त्यसैगरी चुनावपछि भने यी दुई दलबीच पार्टी एकताबारे केही कुरा भएको छैन। पार्टी एकता त परको कुरा दुई दल मिल्दा प्रदेश नम्बर २ मा बन्ने सरकारका बारे पनि उनीहरुबीच छलफल भएको छैन। पार्टी एकता र सरकार गठनबारे दुई दलका नेताका परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन्। । राजपाका नेताहरुले दुई नम्बर प्रदेशमा दुई पार्टी मिलेर सरकार बनाउने र पार्टी एकता गर्ने बताउँदै आएका छन भने फोरमले न सरकार गठनमा रुची देखाएको छ न त पार्टी एकतामा नै चासो दिएको छ।
फोरम अध्यक्ष उपेन्द्र यादवले चुनावताका नै आफू राजपाका नेताहरु मिलाउँदा मिलाउँदै हैरान भएको बताएका थिए। सोमबार यादवले दुई नम्बर प्रदेशमा सरकार बनाउने र पार्टी एकता गर्ने विषयमा कुनै छलफल नै नभएको बताए। प्रदेश र प्रतिनिधि सभाको चुनाव मिलेर लडेका फोरम र राजपा केन्द्रीय संसदमा १० र ११ सिट जितेका छन भने प्रत्यक्षतर्फ प्रदेश नम्बर २ का ६४ प्रदेश सभा सदस्यमध्ये फोरमले २० र राजपाले १५ सिट जितेको छ।

‘अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन। अनि कसरी प्रदेश सरकारको गठनका विषयमा छलफल हुन्छ?’उनले भने,‘राष्ट्रिय सभाको गठन लगायतका जटिलताले गर्दा सरकार गठनलाई थप जटिल बनाएको छ ।’फोरम र राजपाको पार्टी एकताका विषयमा समेत कुनै औपचारिक छलफल नभएको यादवले बताए। ‘राजपाले पार्टी एकता गर्ने भनेर कुनै पनि औपचारिक निर्णय गरेको छैन। हामीले पनि कुनै छलफल गरेका छैनौं,’ उनले भने,‘राजपाका छ जना अध्यक्षका छ वटा धारण आउछन अनि कसका कुरा पत्याउने?’

‘राजपा–फोरमलाई जनताले अनुमोदन गरेको छ। अब यी दुई पार्टीको एकता पनि हुनुपर्छ,’ राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले भने,‘हामीले छ पार्टीको एकता गरेका छौं। अब फोरमसँग पनि एकता गरेर सात पार्टी एक ठाउमा हुनुपर्छ। दुई पार्टीको बहुमत रहेकोले दुई नम्बर प्रदेशमा सरकार पनि दुई पार्टीकै बन्ने उनले बताए। केन्द्रीय सरकारमा सहभागी हुने भन्दा पनि आफुहरुका लागि संविधान संशोधन मुख्य अजेन्डा भएको उनले बताए।‘हाम्रो पहिलो अजेन्डा संविधान संशोधन हो। त्यसपछि मात्रै सरकार हो,’ उनले भने, ‘ठूला तीन पार्टी कसरी अगाडि बढ्छन् त्यसकै आधारमा हामी निर्णय गर्छौ। फोरमले केन्द्रीय सरकार बनाउने क्रममा जुन पार्टीसँग गठबन्धन हुन्छ प्रदेशमा पनि त्यही गठबन्धन बनाउने योजना बनाएको छ।‘

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार