एमाले र माओवादी बीचको एकता प्रक्रियाबारे माओवादीको तिन सर्त

काठमाडौं
पुस १८ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारे यस विषयमा गम्भीर बहस सुरु भएको छ । अघिल्लो साता नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा पार्टी एकतासँग जोडिएका विषयमा गम्भीर छलफल भएको थियो । माओवादी केन्द्रले बिभिन्न तहमा यसबारे बहस आरम्भ गरेको छ । यही विषयमा छलफल गर्न मंगलबार पार्टीले कार्यालयको विस्तारित बैठक समेत बोलाएको थियो ।
एकता प्रक्रिया इतिहासको अनिवार्यता रहेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि संयुक्त घोषणापत्र तय गरेर चुनावमा गएपनि दुबै पार्टीभित्र प्रक्रिया र अन्य विषयमा भने मतभिन्नता कायमै छ । एमाले पंक्ति प्रक्रियामा बढी अल्झिएको देखिन्छ भने माओवादीभित्र वैचारिक बहसले प्रमुखता पाएको देखिन्छ ।
माओवादीभित्र कार्यकर्ता र नेता पंक्तिमा वैचारिक कार्यदिशामा स्पष्टताको माग गरिएको देखिन्छ । नेतृत्व तहले वैचारिक कार्यदिशालगायतका विषयमा पार्टीको अडान के हुने भन्ने कुरा सार्वजनिक नगरेपनि एकता प्रक्रियामा अधिकतम लचकता अपनाएपनि केही विषयमा भने अडान राख्ने माओवादीका शीर्ष नेताहरु बताउँछन् ।
माओवादी केन्द्रको सबैभन्दा ठूलो पूँजि २०५२ साल फागुन १ गते शुरु भएको दीर्घकालिन जनयुद्द हो । नेपाली समाजको जडतामा परास्त गर्न र पीँधमा रहेका कतिपय सामाजिक, राजनीतिक, आर्थिक मुद्दाहरुलाई सतहमा ल्याउन जनयुद्दले महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादीहरुले जोडका साथ उठाउँछन् । त्यसैले पार्टी एकताको प्रक्रियामा जनयुद्दलाई हेर्ने दृष्टिकोण माओवादीका लागि सबैभन्दा बढी चासोको विषय समेत हो ।
पार्टी एकता प्रक्रियामा आउँदा माओवादीले नेपालमा जनताका सबैखाले न्यायपूर्ण आन्दोलनहरुलाई संश्लेषण गर्नैपर्ने अडान राखेको छ । माओवादी शीर्ष नेताहरुले एमाले नेताहरुसँग हुने छलफलका क्रममा प्रकृतिका हिसाबले कुनै आन्दोलनमा विमती हुनसक्ने भएपनि सारमा हरेक आन्दोलनहरु राज्यसत्ताद्वारा लादिएको सामाजिक विभेद र उत्पीडनविरुद्ध नै भएकाले तिनीहरुको सम्मान गर्नुपर्ने र तिनीहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने कुरा उठाएका छन।
यसको अर्थ झापा आन्दोलनदेखि जनआन्दोलन, जनयुद्ददेखि मधेस र अन्य आन्दोलनहरुलाई एकताप्रक्रियामा स्वीकार गरिनुपर्छ भन्ने माओवादी अडान रहेको छ । अहिलेको एमालेको प्रस्थान बिन्दू झापा आन्दोलन रहेको कुरा एमालेले नै स्वीकार गर्दै आएको पृष्ठभूमिमा जनयुद्दलाई हेर्ने दृष्टिकोणमा पूर्वाग्रह राख्न नहुनेमा माओवादी एकमत देखिन्छ । यद्यपी एमालेभित्र भने झापा विद्रोहलाई उनीहरुले उल्लेख गरेपनि जनयुद्द र मधेस आन्दोलनलाई हेर्ने दृष्टिकोण भने पार्टी एकताको स्पिरिटसँग मेल खाएको देखिन्न ।
राजनीतिक कार्यदिशाको इतिहास हेर्दा नेकपा ९एमाले० र नेकपा ९–माओवादी केन्द्र० दुई भिन्न राजनीतिक स्कूलबाट निर्देशित हुँदै आएका छन । सन पचासको दशकमा तत्कालिन सोभियत रुस र चीनबीचको महान विवादको आलोकमा दुबैका राजनीतिक कार्यदिशा तय भएका छन । नेकपा एमालेले माक्र्सवाद र लेनिनवादलाई सिद्दान्ततः स्वीकार्छ भने माओवादी केन्द्रले माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार गर्छ । विश्व कम्युनिष्ट आन्दोलनमा माओवादी र गैर माओवादी स्कूलिङबीच ठूलो मत भिन्नता रही आएको छ । लेनिनले सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य मानेपनि नेकपा एमालेले भने त्यो समेत छोडेको अवस्था नेपालमा छ । अझ माओवादीहरुले त बल प्रयोगको सिद्दान्त र अनिवार्य क्रान्तिको सिद्धान्त मान्दै आएका छन ।
नयाँ जनवाद र बहुदलीय जनवादबीचको ९यद्यपी यो नयाँ जनवाद माओवादी जनवाद भने थिएन० विवाद नेकपा एमालेभित्र लामो समयसम्म चल्यो पनि । एमालेले जनताको बहुदलीय जनवादको प्रस्थापन अघि सार्यो । यो बहुदलीय जनवादले वर्ग समन्वयको वकालत गर्दै वर्ग संघर्ष अनिवार्य नभएको र बल प्रयोग आवश्यक नहुने बताएको छ । उता माओवादीले भने सर्वहारा वर्गको अधिनायकत्व र नयाँ जनवादको स्थापनाको लागि जनयुद्दघोषणा समेत गरेको इतिहास छ ।
तर पछिल्लो चरणमा आइपुग्दा भने नेकपा ९–माओवादी केन्द्र० ले नयाँ जनवादी क्रान्ति मूलतः पुरा भएको निश्कर्ष निकालेको छ । यद्यपी यसमा समेत विवाद कायमै छ । केहीले राजनीतिक कार्यभार पुरा भएको बताइरहँदा गत वर्ष वैद्य माओवादीसँगको एकताको सन्दर्भममा ‘नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादतर्फ अघि बढ्ने’ बिन्दुमा माओवादी केन्द्र आइपुगेको छ । यो हेर्दा नयाँ जनवादी क्रान्तिको पुरानो परिभाषातर्फ माओवादी केन्द्र जाने देखिन्न ।
अहिले सबैभन्दा पेचिलो भनिएको प्रश्न भने नेतृत्वको हो । नेकपा माओवादी र एमालेबीच एकताको बहस अघि चल्दा दुबै नेता कार्यकारी भूमिकामा रहने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिभिन्न सार्वजनिक अवसरमा व्यक्त गरेका छन । तर एमालेबाट भने यो विषयमा नेतापिच्छै फरक मत देखिन्छ । अध्यक्ष ओली निकट नेताहरुले कार्यकारी भूमिकामा दुई जना रहन नसक्ने र पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने धारणा अघि सारेका छन । तर माओवादी भित्र र एमालेभित्रको पनि ठूलो पंक्तिमा केपी ओली प्रधानमन्त्री हुने अवस्थामा प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्ने मत बलियो छ ।
यो बिन्दुमा माओवादी केन्द्रले पार्टी अध्यक्ष र सरकारको एकल नेतृत्व हुन नहुने अडान लिएको देखिन्छ । विचारधारात्मक प्रश्नमा पछि हल गर्ने गरी सहमति हुन सक्ने देखिएपनि यो प्रश्न भने माओवादीका लागि न्यूनतम शर्त जस्तै बनेको छ । त्यसैले माओवादीले एमालेलाई नै प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये के जिम्मेवारी लिने भन्ने विषयमा रोज्न दिने रणनीति लिन सक्ने देखिन्छ ।
पछिल्लो दिनमा एमालेभित्रैबाट प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने समेत आवाज उठेको सन्दर्भममा प्रधानमन्त्री ओली हुने दावी एमालेले गरेको खण्डमा पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने अवस्था अहिले रहेको छ । यी बाहेक अन्य कतिपय संगठनात्मक विषयमा दुबै पार्टीबीच छलफल शुरु भएको छैन । कतिपय अवस्थामा दुबै पार्टीका नेतापिच्छै फरक धारणा देखिएपनि पार्टी एकतासँग जोडिएका विषयमा ओली र प्रचण्डबीच हुने सहमति नै अन्ततः निर्णयक हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार