वाम गठबन्धनका मुख्यमन्त्री दाबेदारहरुको अडान तीव्र

 

काठमाडौं, पुस १६ । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको बेला वाम गठबन्धनका मुख्यमन्त्रीका दाबेदारले आफ्नो अडान तीव्र बनाएका छन् ।
त्यसैगरी वाम गठबन्धनभित्र भावी मुख्यमन्त्रीका लागि लबिङसँगै धु्रवीकरण बढेको छ ।वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा प्रदेश २ बाहेक ६ वटै प्रदेशमा सरकार बन्ने देखिए पनि कसको कहाँ बन्ने विषय छनोटमा भने सकस देखिने भएको छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले पछिल्लो समय पार्टी एकता प्रक्रिया अघि बढाइरहेका बेला मुख्यमन्त्री बाँडफाँटको विषयसम्म पुगेका छैनन् ।पार्टी एकता संयोजन समितिको बैठकले नै प्रदेश प्रमुख बाँडफाँटको विषय टुंग्याउने भए पनि समितिमा औपचारिक रूपमा छलफल हुन सकेको छैन । पूर्वगृहमन्त्री शक्ति बस्नेतले पार्टी एकता संयोजन समितिले मुख्यमन्त्रीको विषय टुंग्याउने बताए । यो विषय पार्टी एकता संयोजन समितिको बैठकबाट टुंगो लाग्नेछ, माथिल्लो तहमा तयारी भइरहेको छ उनले भने ।समिति भने पार्टी एकताको विषयमा नै अड्किएर बसेको छ । केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा नै समितिको बैठक बस्ने निर्णय गरे पनि बस्न सकेको छैन ।
शीर्ष नेतृत्व अलमलमा पर्दा मुख्यमन्त्रीको दाबेदार मानिएका नेताहरू भने आ७आफूले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । कतिपय नेताहरू भने दुई दलले प्रदेश भागबन्डा गर्दा आफ्नो प्रदेश पार्टीको भागमा नपर्ने हो कि भनेर अलमलमा परेकोसमेत पाइएको छ । प्रदेश १ मा पूर्वपर्यटनमन्त्री एवं एमाले सचिव भीम आचार्यले मुख्यमन्त्रीको दाबी गरेका छन् । तर एमालेबाट पूर्वसञ्चारमन्त्री बनेका पार्टी पोलिटब्युरो सदस्य शेरधन राईले समेत दाबी गर्दै आएका छन् ।
प्रदेश १ मा एमालेकै दुई नेताबीचको विवाद मिलाउन हम्मे पर्ने देखिएको छ ।माओवादी केन्द्रका सचिवालय सदस्य टंक आम्बुहाङले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् । उनले भोट माग्दा नै आफूलाई मुख्यमन्त्रीको रूपमा मागेका थिए । प्रदेश २ मा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, माओवादी केन्द्रका नेता भरत साहले मुख्यमन्त्रीको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार