१४ औँ चितवन हात्ती महोत्सव सम्पन्न

चितवन पुस १६ -चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने १४ औँ चितवन हात्ती महोत्सव सम्पन्न भएको छ । यही पुस ११ गतेदेखि शुरु भएको थियो । महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फाष्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ ।
हिमालयन जर्नीको एकताकली दोस्रो र कोकाकोलाबाट सहभागी अनारकली तेस्रो भएको आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो । सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरीको ताज भने होटल पार्क साइडको पुजाकलीले जितेकी छिन् । यस्तै हात्ती पेन्टिङमा भने पुनक कलिले जित्यो । हात्तीको फुटबलमा चौधरी ग्रुपले जितेको छ ।
फुटलमा कुमारी बैंकलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै सिजीले उपाधि जितेको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । हात्ती पोलोमा माउन्ट एभरेष्ट ग्रुपले जितेको छ । उसले मेघा बैंकलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।हात्तीको वनभोज कार्यक्रमसमेत भएको आयोजकले जनाएको छ । हात्ती महोत्सवले सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गराएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार