फोरम नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको थामिनसक्नु भीड

 1573 पटक हेरिएको

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउन सफल संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा यतिबेला नेता कार्यकर्ताको बाक्लो भीड लाग्ने गरेको छ ।

पाँचौं ठूलो दल बनेको फोरम नेपालको केन्द्रीय कार्यालय नेता कार्यकर्ताको उपस्थितिले दिनभरी जसो थामिनक्नु भीड हुने गरेको छ । कार्यकर्ताहरुको भीडभाड केन्द्रीय पार्टी कार्यालयमा कार्यकर्ताहरुको भीडभाड ह्वात्तै बढेपछि पार्टी अध्यक्षसँग भेटघाटको समय मिलाउन पनि हम्मे परिरहेको देख्न सकिन्छ ।

पार्टी कार्यालयदेखि नजिकको सडक र चिया पसलसम्म नेता तथा कार्यकर्ताको उपस्थितिले फोरम नेपालको कार्यालयमा आजभोली बेग्लै रौनक देख्न सकिन्छ । कुनै अवसर नपाएर पनि संगठनमा दिनरात खटिने कार्यकर्तादेखि अवसर मात्रका लागि केही समयअघि मात्रै पार्टी प्रवेश गरेर ठूलै पद हत्याउने प्रलोभनमा रहेका कार्यकर्ताको लविङ रोचक छ ।

प्रतिनिधि र प्रदेश सभा सदस्यको समानुपातिक सूचि तयार भइरहेकोले उम्मेदबार स्वयं र तिनका समर्थकहरुको भीडले पार्टी कार्यालय अचेल भरिभराऊ हुन्छ ।

संघीय समाजवादी फोरम नेपालभित्र समानुपातिक उम्मेदबारको चयन अझै भइसकेको छैन । जसले गर्दा सूचिमा रहेका आकांक्षी उम्मेदबार र तिनका समर्थकहरुले सांसद एवं विधायक बन्न टोली समेत खटाएको पाइएको छ ।

प्रदेश नम्बर दुईमा भारी बहुमत ल्याएर मुख्यमन्त्रीको दाबेदार बनेको फोरम नेपालभित्र भावी मुख्यमन्त्री को हुने भन्ने बिषयमा पनि बाक्लै छलफल र बहस हुन थालेको छ । मुख्यमन्त्री, सांसद र विधायकका आकांक्षी उम्मेदबारहरुले आ–आफ्नै ढंगले केन्द्रीय नेतृत्वलाई दबाब दिने कसरतमा जुटेका छन् ।

चुनावपछि घरदैलो सकाएर फोरम नेपाल सम्बद्ध प्रायः समानुपातिक उम्मेदबारका आकांक्षी नेताहरु काठमाडौं उक्लिएका छन् । मुख्यरुपले प्रदेश नं. २ को समानुपातिक उम्मेदबारहरुको बाक्लै उपस्थिति देख्न सकिन्छ ।

केन्द्रीय र प्रदेश सरकारमा पार्टीको सहभागितालाई लिएर कार्यकर्ताहरुले आ–आफ्नो राय प्रस्तुत गरिरकेका छन् । केन्द्रीय नेताहरुले भने कार्यकर्ताको राय, सुझाव र गुनासाहरु सुन्दै सामूहिक निर्णयको आधारमा निर्णय गरिने आश्वासन दिने गरेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार