भारत र चीनसंग सहकार्य गर्ने – ओली


काठमाण्डौ
पुस ७ । एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसंग शान्ति र समृद्धिका लागि सहकार्य गर्न चाहेको बताएका छन । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको टेलिफोनमा कुराकानी गर्दे आफूहरुले भारत र चीनसंग सहकार्य गर्न चाहेको बताएको हुन । ओलीले यस्तो सहकार्य गर्नको लागि कुराकानी गरेको उनको दलले जानकारी दिएको हो ।
ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन । त्यसैगरी सरकार गठन लगत्तै औपचारिक निमन्त्रणा पत्र पठाइने सचिव प्रदीप ज्ञवालीद्वारा जारी वक्तव्यमा उल्लेख छ। टेलिफोनको कुराकानीमा मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा दिदै आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नया सरकारसंग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए।स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा अबको ध्यान केन्द्रित हुने अध्यक्ष ओलीले जारी वक्तव्यमा उल्लेख गरेको छ । यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने पनि जानकारी दिएका छन ।
एमाले सचिव ज्ञवाली मोदीसँगको कुराकानीमा चीनको प्रसङ्ग उठ्नुलाई स्वभाविक ठान्छन्। एमाले अध्यक्ष ओलीलाई मोदीले भावी प्रधानमन्त्रीको रुपमा हेर्दै उनलाई भारत भ्रमणको निम्तो समेत दिएको देखिन्छ । ओली र मोदीबीच भएको कुराकानीसम्बन्धमा मोदीले गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरेको वक्तव्यमा भनिएको छ ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले बिहीवारै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासंग पनि टेलिफोनमा कुराकानी गरेका थिए। ती नेताका निकटवर्तीहरुले मोदीले तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै नेताहरुलाई बधाई दिएको बताएका छन्।
त्यसैगरी भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभिश कुमारले दिल्लीमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासंग टेलिफोनमा कुराकानी गरेको जानकारी दिएका छन । मोदीले एकैदिन तीनैवटा प्रमुख दलका शीर्षस्थ नेताहरुसंग गरेको कुराकानीलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार