वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी

 576 पटक हेरिएको

काठमाडौं पुस ५ — वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ ।
आगलागीमा परी दुईजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । भने जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । आगलागी हुदाखेरि उद्योगभित्र कति मानिस थिए भन्ने एकिन भएको छैन । ग्यास उद्योग नजिक रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ ।
दमकल जल्दा त्यसका फायर म्यान सविन नेपाल घाइते भएका छन । ग्यास सिलिण्डरहरु र ग्यास प्लान्ट पड्किरहेकाले अग्नि नियन्त्रकहरु नजिक जान सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरीहरु पनि करिब पँच सय मिटर परै रोकिएका छन । स्थानीयबासीलाई पनि नजिक जान दिइएको छैन ।
ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रमनारायण जैसवालले बताए । आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योगभन्दा करिब ५ सय मिटर टाढा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । वरपर रहेका अन्य उद्योगहरुमा पनि सतर्कता अपनाइएको छ ।प्रमुख जिल्ला अधिकारी सिंहले भने, ‘हाम्रो स्रोतसाधान र क्षमताले नभ्याउने भएपछि भित्र पस्ने अवस्था छैन । आगो निभाउन सकिएको छैन । हामीले बाहिरको बस्ती सार्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।’सो ग्यास उद्योग अब्दुलखेर अन्सारीको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार