फोरमको हिमाली र पहाडी क्षेत्रमा निराशजनक मत


काठमाडौं
पुस ४- संघीय समाजवादी फोरम नेपालले निवार्चनमा देशभर ४ लाख ७० हजार मत प्राप्त गरेको छ । त्यसमा मतबढि तराई प्रदेशबाट बढि आएको देखिन्छ ।
हिमाली र पहाडी क्षेत्रबाट फोरमलाई कम मत आएको पाइन्छ । पहाडका जिल्लाबाट सो पार्टीले समानुपातिकतर्फ ३० हजार मत पनि ल्याउन सकेन । त्यैगरी फोरमले आदिवासी जनजातिको मात्र बसोबास रहेका जिल्लामध्ये समानुपातिकबाट मनाङमा २ र मुस्ताङमा एक मत ल्याएको छ । पहाडमा संगठन र जनमत बिस्तारका लागि अशोक राईको संघीय समाजवादी पार्टीसंग एकीकरण गरेका उपेन्द्र यादवको दुई वटा पार्टी एकिकरण गरेर चुनावमा लडदा पनि जनताले सोचे जति मत दिएको पाइन्दैन ।
पहिला एमालेबाट फुटे लगत्तै अशोक राईको पार्टीले देशभर १ लाख २० हजार मत पाएको थियो । ५ वर्षअघि जातीय पहिचानको एजेण्डा नमिलेर एमालेबाट बाहिरिएका अशोक राई,राजेन्द्र श्रेष्ठ,रकम चेम्जोङ,अजम्बर काङमाङ,आङकाजी शेर्पा जस्ता नेताहरुको प्रभाव मध्य र पूर्वी पहाडका जिल्लाहरुमा यसपटक पनि देखिएन ।
२०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष नजिते पनि समानुपातिकमा ५ सिट पाएको संघीय समाजवादी यसबीचमा मधेशी जनअधिकार फोरमसंग मिलेर सँंघीय फोरम बनेको छ । संघीय फोरमले पहाडबाट यसपटक पनि प्रत्यक्षतर्फ एक सिट जित्न सकेन । प्रतिनिधिसभामा अशोक राई स्वयं कांग्रेसको समर्थनमा सुनसरी १ मा उम्मेदवार थिए । तर उनिले निर्वाचनमा जित्न सकेन ।
त्यस्तै उपमहासचिव अजम्बर काङमाङमा भोजपुर १ बाट प्रदेशसभाको उम्मेदवार थिए । नेपाली कांग्रेसको समर्थन पाएका काङमाङले पनि जितन सकेन । त्यस्तै धनकुटा २ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरम नेता अर्जुन थापाले पनि जित हात पार्न सकेन । त्यसो त संघीय समाजवादीले स्थानीय तह चुनावमा पनि पहाडका जिल्लामा चुनाव जित्न सफल हासिल गर्न सकेको थिएन ।
पहाडका आदिवासी जनजाति समुदायमा पार्टीको प्रभाव देखाउन नसकेपछि समानुपातिक उम्मेदवारको अग्रपंक्तिमा रहेका फोरम नेता राजेन्द्र श्रेष्ठलाई सांसद नबनाउन पार्टी्भित्रै उपेन्द्र यादवमाथि मधेशी नेताहरुले दबाब दिएका छन् । हुन त फोरमले समानुपातिकबाट पाएका सबै सिटमा महिला पठाउनुपर्ने देखिन्छ । राजेन्द्र श्रेष्ठ समानुपातिकबाट सांसद हुनकै लागि प्रत्यक्ष चुनाव लड्न मानेका थिएनन् । राजेन्द्र श्रेष्ठको जिल्ला काठमाडौंबाट फोरमले समानुपातिकमा जम्मा ३ हजार ७ मत पाएको छ । त्यस्तै अशोक राईको जिल्ला खोटाङबाट २ हजार ४ सय मत समानुपातिकमा प्राप्त गरेको छ । अजम्बर राईले प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा ११ हजार मत पाएको भोजपुरमा जिल्लाभर फोरमले समानुपातिकमा जम्मा २६ सय मत पाएको छ । त्यस्तै रकम चेम्जोङको जिल्ला धनकुटामा समानुपातिकतर्फ संघीय समाजवादी फोरमले २५ सय मत पाएको छ ।
आङकाजी शेर्पाको जिल्ला सोलुखुम्बुमा सो पार्टीले जम्मा ३ सय ८१ मत पाएको छ । शेर्पा पनि समानुपातिक सूचीमा छन् । पहाडी जिल्लामध्ये संघीय समाजवादीले इलामबाट ३३ मत पाएको छ भने ताप्लेजुङबाट ५सय २० मत पाएको छ । त्यस्तै पाचथरबाट २ हजार ३ सय ८३ मत पाएको छ भने ओखलढुंगाबाट ६ सय ६२ र रामेछापबाट ३ सय १६ मत प्राप्त गरेको छ । संखुवासभामा ८सय १८ मत पाएको संघीय समाजवादी फोरमले अर्को जनजाति बाहुल्य दोलखाबाट २ सय १२ मत पाएको छ ।
सिन्धुपाल्चोकबाट ९ सय ६१ मत पाएको सो पार्टीले काभ्रेबाट ४ सय ९१ मत पाएको छ । संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले भने पहाडमा आफ्नो मत नघटेको दावी गरे । तर, पहाडका आदिवासी जनजातिमा फोरम भनेपछि मधेशी पार्टी भन्ने भ्रम परेकाले अपेक्षित मत ल्याउन नसकिएको उनले बताए । फोरमका मधेशी नेताले भने पहाडमा अशोक राई समूहको प्रभाव कमजोर देखिएको बताए । पार्टीलाई राष्ट्रिय आकार ग्रहण गर्न अशोक राईसंगको एकीकरणले सहज भएको उनले बताए । ‘आज उपेन्द्र यादव रामेछापदेखि कास्कीसम्म गएर भाषण गर्न सक्छन । यसको आधार भनेको अशोक राईहरुसँगको एकीकरणनै हो’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार