देउवाले प्रधानमन्त्री बन्न गरेको अफर दाहालले ठाडै अस्वीकार गरेको खुलासा

काठमाडौं
पुस ४ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर गरेको खुलासा गरेका छन् ।
देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको दाहालले बैठकमा खुलासा गरेका थिए ।चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन् ।
सरकार र पार्टी एकताको विषय संगसंगै अगाडि लैजानुपर्नेमा माओवादी बैठकले जोड दिएको छ ।
दाहालले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन दाहालले आग्रह गरेका थिए ।दाहालको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार सँझ केही सञ्चारकर्मीसंगको भेटमा भनेका थिए । ‘ अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’
देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए । उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे ।कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलको संयुक्त सरकार गठन गरी ५ वर्षसम्म प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेका थिए । तर, नमानेको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रको लागि कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ । उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ ।’

माओवादीले अब त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले बताए । कांग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्ट्रिय सहमति खोजी गरेर जानुपर्नेमा दाहालको जोड थियो। हामीले हिजो पनि समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधानसभाबाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन्न हुन सक्यो अब पनि कांग्रेसलाई साथै लिएर जाने गरी हामीले समन्वयकारी रूपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ’, दाहालको भनाइ थियो । त्यसका लागि माओवादीले अब प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष निकालेको छ। शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । राष्ट्रियसभासम्बन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविद्सँग बसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र्र पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार