मेची नेत्रालय काकडभिट्टा गोल्डकपको विजेता त्रिभुवन आर्मी क्लब


काकडभिट्टा
मंसिर २८ । त्रिभुवन आर्मी क्लबले मेची नेत्रालय काकडभिट्टा गोल्डकपको विजेताको उपाधि हात पारेको छ ।
उपाधिसंगै आर्मीले नगद आठ लाख एक हजार पुरस्कार हात पारेको हो । शुक्रबार काकडभिट्टा माविको खेलमैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–२ गोलले हराउदै आर्मीले सो उपाधि जितेको हो । आर्मीले मनाङलाई टाइब्रेकरमा हराउदै उपाधि हात पार्न सफल भएको थियो । उपविजेता बनेको मनाङले चार लाख एक हजारमा हात पारेको थियो ।
खेलको ९० मिनेटको दुवै टोलीबाट गोल हुन नसकेपछि अन्तिम निर्णयका लागि टाइब्रेकरमा खेल खेलाउनु परेको थियो । टाइब्रेकरमा मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, हेमन गुरुङ अनिल गुरुङ, र नीराजन मल्लले पेनाल्टी प्रहार गरेका थिए । अनिल, कमल र नीराजनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए ।
आर्मीका नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, सन्तोष तामाङ, पदम तामाङ र विवेक बस्नेत पेनाल्टी हानेका थिए । जितेन्द्र र पदमको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले रोकेका थिए । शुक्रबारको खेलको म्यान अफ दी म्याच आर्मीका विकास खवास घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित रूपन्देही–११, झापा–११,  मनाङ मस्र्याङदी क्लब,  त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ,  नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, भारत कोलकाता र सुदूरपश्चिम–११ को सुभाषचन्द्र ब्वाइज क्लबको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट तथा मेची नेत्रालयका निर्देशक डा.शरदचन्द्र प्रकाश राईले पुरस्कार प्रदान गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार