अमेरिकामा पञ्चायत चलचित्रले अवार्ड हात पारे


काठमाडौं
मंसिर २८ -सनफ्रान्सिस्को फिल्म महोत्सव’मा नेपाली चलचित्र ‘पञ्चायत’ले विदेशी भाषाको उत्कृष्ट चलचित्रको विधामा अवार्ड जितेको छ ।
अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कार्यकममा पञ्चायत’ले अवार्ड जितेको हो । यसै चलचित्रकी नायिका नीता ढुंगानाले ‘बेस्ट लिडिङ एक्ट्रेसको अवार्ड हात पारीकी छिन । अंग्रेजी फिल्मबाहेक अन्य विदेशी भाषाको विधामा पञ्चायतले उत्कृष्ट अवार्ड पाएको कार्यकारी निर्माता रवि अधिकारीले बताए ।
अक्टोबर २५ देखि २९ सम्म फिल्म महोत्सव आयोजना भएको थियो । १५ वर्षपहिले सुरु भएको यस महोत्सवमा गत वर्षदेखि नेपाली चलचित्र पनि सहभागी हुन थालेको हो । महोत्सवका दक्षिण एसिया संयोजक तथा नेपाल पर्यटन बोर्ड सनफ्रान्सिस्कोका लागि पर्यटनदूत प्रकाश थापाका अनुसार गत वर्ष नेपाली चलचित्र ‘तीन घुम्ती’ महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल भएको थियो ।
ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । चलचित्रमा नीताका अलावा सरोज खनाल, रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । चलचित्र पञ्चायत फागुन १७ देखि देशभर प्रदर्शन हुँदैछ । फिल्म महोत्सवमा हलिउड र एसियाका गरी दुई सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार