कलैया उपमहानगरपालिकाका एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेसमा प्रवेश

कलैया । नेकपा एमालेबाट कलैया उपमहानगरपालिका १९ का नव निर्वाचित वडा अध्यक्ष लतिफ मिया ठकुराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा नं. १९ का स्वतन्त्र वडा अध्यक्षका प्रत्याशी उम्मेदवार रामनारायण साह तेली, माओवादी केन्द्रका गाँउ कमिटि उपाध्यक्ष महमद गनी मिया ठकुराई, राजपाका गांउ कमिटिका अध्यक्ष श्रीराम पाण्डे, माओवादी केन्द्रकै शर्मा प्रसाद जयसवाल, जयराम पण्डित, विद्यानन्द पाण्डेय सहित सात सय जना भन्दा बढी नेकपा एमाले, माओवादी केन्द्र, राजपा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन‍् ।

नेपाली कांगेसले कलैयाको उपमहानगरपालिका १९ रघुनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री एवम क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुर, क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार एवम नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रिय सभापति फुलमहमद मंसुर, महासमिति सदस्य अतिउर रहमानले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा मंसुरले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानको लागि नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताए । उनले मुलुकमा नयाँ संविधान आईसकेको र अब आर्थिक उन्नतिका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने बताएका हुन । उनले नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ नलगी अतिवादमा लागेको आरोप लगाए । श्रम मन्त्री मंसुरले भने ‘ती अतिवादीहरुले मधेसीहरुलाई गाली गर्ने, कालो भन्ने गरी सम्प्रदायिकता बढाउन काम गरेका छन् ।’

उनले हिमाल, पहाड, तराईका जनताहरुबीच सुमधुर सम्बन्ध कायम गरी नेपाली कांग्रेसले पुलको काम गरेको बताए । ‘मुलुकमा अप्ठयारो परेको बेला नेपाली कांग्रेसले मुलुकलाई निकास दिएको छ’, मन्त्री मंसुरले भने नयाँ संविधानलाई कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक उन्नतिको बाटो तर्फ नेपाली कांग्रेसले नै लग्नेछ, त्यसको लागि नेपाली कांग्रेसलाई नै विजयी बनाउन पर्ने अहिलेको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार