फोरम नेपालका उपाध्यक्ष युवराज कार्की मोरङ क्षेत्र २ बाट उम्मेदबार

मेरो उम्मेदबारीले नश्लीय खस आर्यको खोक्रो जग हल्लिएको छ– युवराज कार्की
मोरङ १६, कात्तिक । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्कीले मोरङबाट आफ्नो उम्मेदबारी दर्ता गराएका छन् । मोरङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उपाध्यक्ष कार्कीले उम्मेदबारी मनोनयन दर्ता गराएका हुन् ।

बिहिबार फोरम नेपालका उपाध्यक्ष कार्कीले आफ्ना समर्थक दलबलसहित निर्वाचन आयोगको कार्यालय मोरङ पुगेर व्यवस्थापिका संसदको सदस्य पदका लागि उम्मेदबारी दिएका छन् ।

निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गराएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष कार्कीले आफ्नो उम्मेदबारी दर्ता भएसँगै उत्पीडित खसआर्यको नाममा लाभ खाएर बसेका नश्लवादी खसआर्यको जग हल्लिएको कडा प्रतिक्रिया दिएका छन् ।

‘म आफै खसआर्य समुदायको हुँ, तर उत्पीडित खसआर्यको पक्षमा वकालत गर्दै आएको छु । मेरो उम्मेदबारीले छलकपट गरेर उत्पीडित खसआर्यको भाग खोसेर खान पल्केकाहरुको नीँद हराम भएको छ’– सांसदका प्रत्यासी कार्कीले भने ।

उत्पीडनमा परेका खसआर्य समुदायका जनताको समस्या र त्यसको समाधानको लागि आफू गम्भीर भएर संघर्षमा रहेको बताउँदै फोरम नेपालका उपाध्यक्ष कार्कीले अरुको भाग खाने प्रबृत्ति अन्त्य गर्दै समस्यामा रहेका वास्तविक खसआर्यको जीवनस्तर उकास्न आफू लागिपरेर संघर्ष गर्ने बताएका छन् ।

उपाध्यक्ष कार्कीसँगै फोरम नेपालको तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. २ को (१) प्रदेश सभा सदस्यका लागि उदय यादव र २ को (२) का लागि असिनाथ राजबंशी चुनावी मैदानमा उत्रिएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. २ मा फोरम नेपालका उपाध्यक्ष कार्कीसँग नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र नेकपा एमालेका रिषि पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार