पत्रकारलाई धम्क्याउँदै भन्सार प्रमुखले भने, ‘तपाई जस्तो म उत्तर प्रदेशको मान्छे होइन’ 

३० लाख राजश्व छलिमा भन्सार कर्मचारीकै संलग्नता।

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखले समाचार लेखेको विषयमा एक पत्रकारलाई धम्क्याउँदै भारतीय नागरिक भनेर नश्लीय आरोप लगाएका छन् । भन्सार प्रमुख जनार्दन आचार्यले नेपालगञ्जका स्थानीय पत्रकार विनय दीक्षितलाई धम्की दिँदै भन्सार छलि प्रकरणलाई दबाउन खोजेका छन् ।

दीक्षितले भन्सार छलि प्रकरणबारे समाचारका लागि सम्पर्क गर्दा प्रमुख आचार्यले भने,– ‘तपाई जस्तो म उत्तर प्रदेशको मान्छे होइन । तपाईले सिकाउनु पर्दैन ।’ भन्सार प्रमुख जस्तो व्यक्तिले यसरी विदेशी नागरिकको आरोप लगाएपछि नेपालगञ्जका स्थानीय पत्रकार तथा नागरिक अगुवाहरुले आपत्ति प्रकट गरेका छन् ।

गत शनिबार भन्सार कार्यालय नेपालगन्जको मिलोमतोमा राजश्व छलीगरि भित्रिएको ३० लाख रुपैया बराबरको मेसिन र सामाग्री बरामद भएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।  नेपालगन्ज भन्सार नाका भएर भित्रिएको ट्रकमा लोड रहेको मिशिनलाई कर्मचारीले चेकजाँच र जाँच पास बिनानै नेपालगन्ज भित्र्याएपछि संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले बरामद गरी कारवाही अघि बढाएको हो ।

प्रारम्भिक रुपमा ७० लाख रुपैयाको दावी गरिएको सामाग्री विशेषज्ञको जाँच पछि ३० लाख रुपैयाको रहेको खुलाइएको छ । शनिवार राति संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जबाट खटिएको बिशेस टोलीले भन्सार छली गरि नेपालगन्ज भित्रिँदै गरेको सामाग्री मेसिनरी र त्यसको सामाग्रीसहित दुई जना ब्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो ।

यूपी ३६ टी ७३०७ नं. को भारतीय ट्रकमा भन्सार छली गरि पैठारी गरिरहेको सूचनाको आधारमा कारबाही गर्दा राजश्व ठगी गरि करिब ३० लाख रुपैयाँ पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामाग्री तस्करी भइरहेको अवस्थामै बरामद भएको संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेशबिक्रम शाहले जानकारी दिएका छन् । राजश्व छलि प्रकरणमा संलग्न ब्यवसायी र कर्मचारी बारे थप अनुसन्धान अघि बढेको शाहले बताए ।

‘भन्सारमा रहेका कर्मचारीले चेकजाँचपछि ट्रक जान दिनुस् भनेपछि छाडिएको हो’, प्रहरी श्रोतले भन्यो, ‘कर्मचारीसँग पूर्व मिलोमतो र योजना रहेको प्रारम्भिक अनुसन्धानबाट तथ्य बाहिर आएको छ ।’

कानपुरबाट नेपालगन्ज १३ बस्ने पप्पु शाहका लागि जगदिस प्रसाद बनियाले मिलोमतो गरि खराद मेसिन र त्यसको पार्टस भित्र्याएको प्रहरी श्रोतले दावी गरेको छ । दुर्गेश्वरी ईलेक्ट्रीकल्स नेपालगन्जको नाममा भारतीय एउटा बिल फेला परेको हो, प्रहरीले भन्यो, ‘त्यसै आधारमा तस्करीमा संलग्न ब्यवसायीको थप विवरण बारे अनुसन्धान अघि बढाइएको छ ।’

प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नजिकबाट ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले ट्रक सहित ट्रक चालक भारत उन्नाउ ग्राम मोहीभान थाना बस्ने बिरेन्द्र कुमार पाल र सहचालक नरेन्द्र सिंहलाई पनि पक्राउ गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयमा राजश्व नतिरी कर्मचारीको मिलोमतोमा भित्रिएको सामाग्री बारे थप अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ । भन्सार कर्मचारीबाट चुक भएपनि मिलोमतो नभएको दाबी गर्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले घटना बारे जाँच गर्न तीन सदस्यीय समिति गठन गरिएको बताए । पश्चिम नेपालको मुख्य नाकाको रुपमा रहेको नेपालगन्ज भन्सारबाट पछिल्लो समयमा ठूलो परिमाणको राजश्व छलीका घटना बाहिर आउन थालेका छन् ।

भन्सार कार्यालय भएर अघि बढेको ट्रक बिना भन्सार फेला परेपछि भन्सार माथि मिलोमतोको आरोप लागेको हो । मिलोमतोको खण्डन गर्दै प्रमुख आचार्यले भने, ‘यो जाँचको विषय हो, । ७ दिन भित्र प्रतिवेदन आएपछि थप तथ्य बारे खुलेर भन्न सकिन्छ, उनले भने, त्यसै मिलोमतोको विषयमा भन्न सकिँदैन ।’  सामाग्री धनी जगदीश प्रसाद बनियाले उक्त सामाग्री भूलबस भन्सार कटेर आएको बताएका छन् । भन्सार नाका र अवस्था बारे थाहा नपाएका चालक भएका कारण त्यस्तो समस्या हुन गएको हो, उनले भने, प्रहरीले अनावश्यक कारवाही अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार