रौतहट ४ मा एमालेबाट वंशीधर मिश्र‘आउट’तुलसीराज गिरी ‘इन’

वंशीधर मिश्रले झिके बखेडा

काठमाडौं, १५ कात्तिक । प्रदेश नम्बर २ मा एमालेले १३ र माओवादी केन्द्रले १५ सिट पाउने गरी भागबन्डा टुंगो लगाएका छन् । आ–आफ्ना भागमा परेका निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रले आज धमाधम उम्मेदवार छनोट गर्दैछन् ।

प्रदेश नम्बर २ अन्तर्गत रौतहट २ र ४ को प्रतिनिधिसभातर्फको सिट एमालेकोे भागमा परेको छ । १ र ३ माओवादी केन्द्रले पाएको छ । रौतहट ४ मा एमालेको क्षेत्रीय र जिल्ला कमिटीले पहिलो नम्बरमा माधवकुमार नेपाल, दोस्रो नम्बरमा रामकुमार भट्टराई र तुलसीराज गिरीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा कल्याणी खड्काको नाम सिफारिस भएको छ । उनी रौतहटको एमाले इन्चार्ज पनि हुन् । उनी पनि नउठ्ने भएकाले गिरीले टिकट पाउनेमा रौतहटका एमाले कार्यकर्ता विश्वस्त छन् ।

 

माधव नेपाल काठमाडौं २ बाट उठ्ने भएका छन् भने भट्टराईले आफू यसपटक नउठ्ने घोषणा गरेका छन् । सोही कारण गिरी मात्र भएकाले उनको नाम भूगोलबाट सर्वसम्मत जस्तै छ । भूगोलबाट आएको नाम महासचिव ईश्वर पोखरेलकहाँ पुगेको छ । उनी एमालेको उम्मेदवार छनोट सिफारिस समितिको सदस्य हुन् ।

गिरी करिब करिब सर्वसम्मत जस्तै भएको र उनले टिकट पाउने निश्चित भएपछि मंगलबारदेखि नेता डा.वंशीधर मिश्रले बखेडा झिकेका छन् । मिश्र रौतहट १ र ३ बाट सिफारिसमा परेका थिए । तर, सो क्षेत्र वाम तालमेल हुँदा माओवादी केन्द्रको भागमा परेको छ । १ बाट माओवादीका सत्यनारायण भगत र ३ बाट प्रभु साह उठ्दैछन् ।

आफ्नो निर्वाचन क्षेत्र नभएकाले मिश्रले आफूलाई ४ नम्बर क्षेत्रबाट टिकट दिन उनले केन्द्रमा दबाब बढाइरहेको स्रोतले बतायो । रौतहट २ बाट मुस्ताक राजा उठ्ने बताइएको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा रौतहटको १ र ६ नम्बर क्षेत्र जित्दा तुलसीराज गिरी माधवकुमार नेपाल र रामकुमार भट्टराईका चुनावी कमान्डर थिए । उनी रौतहटमा लोकप्रिय मानिन्छन् ।

रौतहट ४ मा नेपाली कांग्रेसबाट देवप्रसाद तिमल्सिनाको नाम सिफारिस गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा तिमल्सिना एमालेका रामकुमार भट्टराईसँग करिब पाँच सय मतले पराजित भएका थिए । तिमल्सिना सो क्षेत्रका लोकप्रिय कांग्रेस नेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार