प्रदेश दुईको मुख्यमन्त्री निर्वाचनपछि मात्रै तय हुन्छ– अध्यक्ष यादव

विराटनगर १२, कात्तिक । प्रदेश नम्बर दुईको भावी मुख्यमन्त्रीको रुपमा राजपाका अध्यक्षमण्डल संयोजक महन्थ ठाकुरको नाम प्रस्ताव गरिएको चर्चा भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसको खण्डन गरेका छन् । आगामी चुनावमा फोरम नेपाल र राजपाबीच गठबन्धन बनेसँगै ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएको खबर आधिकारिक नभएको यादवले प्रष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश नं २ को मुख्यमन्त्री को हुने हो, त्यसको निर्णय प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट गरे । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्ने सहमति भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए । अध्यक्ष यादवले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन राष्ट्रविरोधी नभएपनि यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदको अन्त्य र सामाजिक न्याय कायम गर्ने दिशामा अघि बढे मात्र गठबन्धन सफल हुने बताए ।

अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिए । नेता यादवले संविधानको पुनःलेखन र संविधान संशोधनको माग पार्टीले नछाडेको बताउँर्दै आगामी निर्वाचनवाट नै यसको छिनोफानो हुने स्पष्ट पारे ।

‘तोकिएको समयमै संघीय संसद् र प्रदेशको निर्वाचन हुनुपर्छ भन्ने अडान लिँदै मतपत्रको कारण देखाई निर्वाचन सारिएमा मुलुक धरापमा पर्ने खतरा यादवले औल्याएका छन् । अध्यक्ष यादवले निर्वाचन आयोगले आफू स्वतन्त्र छु भन्ने विश्वास जनतामा दिलाउन तोकिएको समयमै स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार