संघीय फोरमको पाहाडी जिल्लाहरुमा बढ्दो आर्कषण, रोकिएन पार्टी प्रवेशको लहर

ताप्लेजुङ, ११ कात्तिक । संघीय लिम्बुवान मञ्च ताप्लेजुङ जिल्ला अध्यक्ष किर्तीमान मादेन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
यसैगरी राप्रपा ताप्लेजुङ जिल्ला अध्यक्ष चन्द्र मादेन पनि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम ताप्लेजुङ जिल्ला कमिटिले शनिबार ताप्लेजुङको फुङलिङमा आयोजना गरेको कार्यक्रममा उनीहरु संघीय फोरममा प्रवेश गरेका हुन् । सो क्रममा नेपाली कांग्रेसका नेता तेजेन्द्रप्रसाद राईसमेत कांग्रेस परित्याग गरी संघीय फोरममा प्रवेश गरेका छन् ।

तिन दलका जिल्लाका शीर्ष नेताहरुका साथमा करिब १ सयजना कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । सो क्रममा नयाँ शक्ति पार्टीका नेता समेत प्रवेश गरेका छन् ।

संघीय फोरम मात्रै पहिचान र संघीयताको पक्षमा दृढ रहेकाले आपूmहरु पहिचानवादीहरुको शक्ति निर्माणको अभियान अनुरुप पार्टी प्रवेश गरेको किर्तीमान मादेनले बताए ।

यसअघि उनीहरुले गत कात्तिक १ गते नै संयुक्त पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । संघीय लिम्बुवान मञ्च, राप्रपा र नेपाली कांग्रेसबाट हाल प्रवेश गर्ने सबै शीर्ष नेताहरुले सामुहिक पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनीहरु पहिचान र संघीयता पक्षधरहरुको शक्ति निर्माण गर्नुपर्ने भन्दै संघीय फोरममा प्रवेश गरेका हुन् । उनीहरुलाई संघीय फोरमका वरिष्ठ नेता अशोक राईले टीका र माला लगाएर स्वागत गरेका छन् ।

मोती पालुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संघीय फोरमका वरिष्ठ नेता राईसहित उपाध्यक्ष युवराज कार्की, राजनीतिक समिति सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज निर्मला तावा, समाजवादी युवा फोरमकी मनकला लिम्बूलगायत सहभागी थिए ।

सो क्रममा संघीय फोरम ताप्लेजुङका उम्मेदवारहरु समेत उपस्थिति थिए । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि कुमार साम्योक प्रत्यक्ष उम्मेदवार बनेका छन् भने प्रदेशसभा १ बाट भक्त यङदेन र प्रदेशसभा २ बाट सुजित ओखाबो उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार